कोरोना रोक्न संसद्, स्कुल र सार्वजनिक यातायात बन्द गर्न सांसदको माग

748
views

काठमाडौँ, २९, फागुन । कोरोना भाइरस (कोभिड(१९) को संक्रमण फैलिरहेका बेला पहिल्यै सचेतताका कदम चाल्न सांसदहरूले सरकारको ध्यनाकर्षण गराएका छन् । विहिवारको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसदहरूले संसद्, विद्यालय र सार्वजनिक यातायातमा रोक लगाउन समेत आग्रह गरेका हुन् ।

प्रतिपक्षी कांग्रेसका सांसद भीमसेनदास प्रधानले सरकारले कोरोना संक्रमण फैलिनुपूर्व नै अत्यावश्यक कदम चाल्नुपर्ने बताए । कोरोनाको संक्रमण फैलिएमा नेपालले थेग्न सक्ने अवस्था नरहेकाले पहिले नै सचेत हुनुपर्ने उनको भनाइ थियो ।

समाजवादी पार्टीकी सांसद रेणुकुमारी यादवले कोरोना संक्रमण फैलिए सरसफाइको व्यवस्था नरहेको संसद्मै जोखिम हुने बताइन् । उनले पटक–पटक हात धोएर सचेतता अपनाउनुपर्नेमा त्यस्तो व्यवस्था अरु ठाउँमा पनि नभएको बताइन् । ’अरु देश पूर्वतयारीमा लागेका छन् । हाम्रो देशमा भने भाषण र विज्ञापन मात्रै भइरहेको भन्दै आपत्ति जनाईन् ।

सांसद रंगमती शाहीले ताक्लाकोटमा रहेका दार्चुला, बझाङ र हुम्लाका स्थानीयलाई उद्धार गर्न माग गरिन् । कोरोनाको डरले चीनको ताक्लाकोटबाट १४८ जना नेपाली फर्किन चाहे पनि हुम्ला प्रशासन र गृहमन्त्रालयले पहल नगरेको भन्दै उनले ४ जना गर्भवती रहेको समेत जानकारी गराईन् ।

सांसद राजेन्द्र केसीले कोरोना प्रकोपले विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य अत्यधिक घटेको अवस्थामा नेपालमा भने उपभोक्ताले उच्च मूल्य तिर्नुपरेको भन्दै ध्यानाकार्षण गराउँदै पेट्रोलियम पदार्थको मूल्य बढ्दा हप्तामा ३ पटकसम्म बढाउने नेपाल आयल निगमले मूल्य घट्दा महिनौंसम्म पनि किन समायोजन गर्दैन रु भन्ने प्रश्न गरे ।’

सांसद रामबहादुर विष्टले बजारमा स्यानेटाइजर, मास्क लगायतका सामग्रीमा कालोबजारी र मूल्यवृद्धि गरिएको भन्दै सरकारले तत्काल यसमा रोक लगाउनुपर्ने धारणा राखेका थिए ।

सांसद रेनुका गुरुङले पूर्वमन्त्री गोकुल बाँस्कोटा र पूर्वप्रधानसेनापति राजेन्द्र क्षत्रीमाथि लागेको भ्रष्टाचारको छानबिनबारे जानकारी गराउन सांसद माग गरेकी छन् ।