चरित्र हत्याको राजनीति

179
views

–सन्तबहादुर नेपाली
नेकपा (मसाल) का महामन्त्री मोहन विक्रम सिंहले प्रवक्ता राम प्रकाश पुरीको नामबाट “थप स्पष्टिकरण” भनेर २०७६ फागुन २४ गते एउटा लामो लेख लेख्नु भएको छ । त्यो लेख क. मोहनविक्रम सिंहको हो भन्दा उहाँमाथि अन्याय हुने छैन । किनकि त्यसमा उहाँले लेख्नु भएको छ, “जहाँसम्म मलाई सम्झना छ, केन्द्रीय समितिमा नेपालीले पनि थापामाथिको त्यसप्रकारको कारवाहीको पक्षमा नै भोट दिनु भएको थियो ।” क. थापाजीलाई ६ महिनाको निलम्वन गर्दा म हाँक साप्ताहिकको पार्टीको तर्फबाट सल्लाहकार वा अध्यक्ष के थिएँ, याद भएन । यो कुरा २०६६ साल तिरको हुनु पर्छ । त्यसपछि नै पुरीजी केन्द्रीय समितिमा आउनु भएको थियो ।पार्टी केन्द्रीय समितिमा नभएको मान्छेले “जहाँसम्म मलाई सम्झना छ, …………” भनेर लेख्ने प्रश्नै आउँदैन । त्यसकारण का. पुरीलाई उद्धृत गरेर मैले लेखबारे चर्चा गरे भने उहाँमाथि अन्याय हुनेछ ।

त्यसकारण क. पुरीको नामबाट आएको त्यो लेखबारे चर्चा गर्दा क. एमबी कै नामलाई आधार बनाएर चर्चा गरिनेछ । उक्त लेखलाई साङ्गोपाङ्ग अध्ययन गर्दा त्यो सन्तबहादुर नेपालीको चरित्र हत्यासित सम्बन्धित छ । यसप्रकारको चरित्र हत्याको राजनीति क. एमबीले गर्नु होला भनेर मैले कमै आशा गरेको थिएँ । पाँचौं महाधिवेशनमा उहाँको चारित्रिक प्रश्नमा सात दिनसम्म छलफल चलेको थियो । वैद्य जी, प्रचण्डजीहरुले “गल्तीको ढाकछोप” र क. मोहनविक्रमले “मध्यपन्थी कमजोरी” नामक दुईवटा दस्तावेज प्रस्तुत गरिएका थिए । यद्यपि मैले हाम्रो जिल्ला बाहेकका कसैलाई पनि चिन्दिनथें, म अन्ततः “मध्यपन्थी कमजोरी” नामक प्रस्तावलाई समर्थन जनाएँ । किनकि कसैको चरित्रको बारेमा छलफल गरेर कम्युनिस्ट आन्दोलनलाई पुग्ने फाइदा केही देखिन । म अहिले पनि अर्काको चरित्र हत्याको राजनीति गरेर राजनीतिमा आफूलाई अब्बल सावित गर्ने मानिसलाई मैले घृणा गर्छु । क. मोहनविक्रम सिंहलार्ई अल्पमत पक्षमा उभिएर समर्थन गर्नुको पछाडिको कारण मेरो यत्ति मात्र थियो । मैले उहाँलाई पनि व्यक्तिगत रुपमा चिन्दैनथें ।

त्यतिबेला तात्कालिन महामन्त्री क. मोहन वैद्यजी हाम्रो जिल्ला अर्घाखाँची पुग्नु भएको थियो । म जिल्ला पार्टी सेक्रेटरी थिएँ । राती बैठक बस्यो । महामन्त्रीले मोहन विक्रमजीको प्रसंग उठाउनु भयो । बैठक नसकिंदै उहाँहरु विहान उठेर हिंड्नु भयो । अर्घाखाँचीको सिंगो जिल्ला पार्टीले चारित्रिक विषयलाई राजनीतिसित जोड्ने कुरालाई अस्वीकार ग¥यो । पछि म केन्द्रीय समितिमा पुगेपछि पनि हामीले कसैको चारित्रिक कुराहरु सार्वजनिक गर्नुलाई गलत बतायौं । अझ विशेष गरेर महिलाहरुको सम्बन्धमा त हामीले कडा नीति नै बनायौं । कुनै चारित्रिक घटनाहरु हुन सक्छन् । त्यो अवस्थामा कसुर अनुसारको सजाय गरे पछि त्यो कुरा त्यही सिद्धिन्छ । त्यसलाई बारम्बार उठाउनुले व्यक्तिगत मात्र होइन, कम्युनिस्ट आन्दोलनलाई पनि क्षति पुग्छ । चारित्रिक कमजोरी जब प्रवृत्तिमा पुग्छ, त्यतिबेला त्यो पार्टीको लागि घातक हुन जान्छ । त्यसबेला चारित्रिक कुरा हो भनेर छोड्ने कुरा हुन्न । तर राजनीतिक लडाई जित्न नसकेपछि चरित्र हत्याको राजनीतिको सहारा लिनुलाई सही मान्न सकिन्न । राजनीतिमा त्यो असहायपन र कायरता मात्र हुन जान्छ । क. एमबी सिंहले पाँचौं महाधिवेशनको ३४ वर्षपछि प्रचण्डजी, वैद्यजीहरुले पाँचौं महाधिवेशनपछि अपनाएको चरित्र हत्याको राजनीतिको पुनरावृत्ति गर्नु भएको छ ।

जहाँसम्म मेरो चरित्रसम्बन्धी विषय छ, धेरै साथीहरुलाई प्रष्ट थाहा छ । नयाँ साथीहरुलाई थाहा नहुन सक्छ र क. एमवीको वक्तव्यले म प्रति आश्चर्य र घृणा जगाएको पनि हुन सक्छ । तर वास्तविकता बेग्लै छ । म शुरुदेखि के विश्वास राख्दछु भने एउटा कम्युनिस्ट पार्टीको सदस्य खुला किताब हुनैपर्छ, पार्टी भित्र । पार्टी बाहिर ढाँट्न पनि सकिन्छ । वर्ग दुश्मनसँग खुला किताब हुन आवश्यक छैन । तर पार्टी्भित्र रहस्यमयी बन्नु हुँदैन । पार्टी्भित्र सबै कुरा खुला हुनुपर्छ । मेरो विषयमा धेरै साथीहरुलाई थाहा छ । तैपनि सबै कुरा तल्ला समितिहरु समक्ष पुगेको छैन । नेतृत्वका साथीहरुले मेरा विरुद्ध कुरा लैजानु भएको छ । मेरो तर्फबाट आफ्नो कुरा तल गएको छैन । अब सबै कुरा पार्टी्भित्र जानकारी गराउन आवश्यक छ । तर प्राविधिक समस्या छ । मैले पार्टीका साथीहरुलाई सम्पर्क गर्न मिल्दैन । त्यो अवस्थामा मैले हरेक जिल्ला पार्टीको खुला कार्यालयमा वा प्रवक्तालाई मैले ०६९ सालमा केन्द्रीय समितिमा प्रस्तुत गरेको निवेदन उपलब्ध गराउने छु । वास्तविक रुपमा कथित एसएमएसमा मेरो कसुर थियो वा षडयन्त्र गरिएको थियो ? मैले कुन अवस्थामा “होला” भनेको थिएँ र त्यसैलाई आधार बनाएर “स्वीकार गरेको भनेर पी.वी.मा र त्यसपछि सी.सी.मा लगिएको थियो ?त्यो सबै कुरा त्यही निवेदन बोल्ने छ । निवेदनमा छानवीन समितिको माग गरिएको छ । त्यो माग पूरा नभएपछि ३ वर्षपछि ०७२ ससालमा केन्द्रीय जिम्मेवारीबाट म हटेको हो ।

क. एमबीले लेखमा स्पष्ट लेख्नु भएको छ, “सन्तबहादुर नेपाली अब हाम्रो पार्टीमा हुनहुन्न ।” पार्टीमा नभएको मानिसको बारेमा क. एमबीले जुन प्रकारको तथानाम आरोपहरु लगाउनु भएको छ, त्यो राजनीतिक नेतालाई सुहाउने कुरा होइन ।

उहाँले लेख्नु भएको छ, ‘उहाँलाई कुनै जिम्मेवारी दिइएन भनेर भन्दै हिंड्नु भएको छ । जसको मतलब हुन्छ उहाँलाई पार्टीको माथिल्लो पदमा लगिएन” एमबीजीलाई याद होला म पीवीएम र राजमोको महासचिव जस्तो पदमा बसेको मान्छे म आफै ०७२ सालमा स्थानीय स्तरमा काम गर्ने भनेर केन्द्रीय जिम्मेवारीबाट हटेको हुँ । अहिले पनि क. एमबीको प्राधिकारवादी र स्वेच्छाचारी प्रवृत्ति कायम नै छ । यो अवस्थामा “माथिल्लो पदमा लगिएन” भनेर कुण्ठा पाल्नु भनेको मेरो मुर्खता हुनेछ । म जिल्ला पार्टीको काम गर्नका लागि जिल्ला समितिको एउटा सदस्यसम्म बस्न खोजेको सत्य हो । त्यो पनि ०७२ सालको केन्द्रीय समितिको बैठकको निर्णयअनुसार काम गर्न खोजेको हो । पार्टीबाट निस्कासन गरेपछि अब मलाई क. एमबीले पदलोलुप देखाउन खोज्नु भएको छ । त्यो सरासर गलत हो । मलाई निष्कासन गरिएकोमा कुनै दुःख छैन । बरु गर्व यो कुरामा छ कि म निष्काशन भए पनि म आम जनता र साथीहरु कै बीचमा पत्रिका सम्बन्धी काम गरिरहेको छु । यसै कामलाई क. एमबीले मलाई पार्टी फुटाल्न लागेको देख्नु भएको छ । मलाई उहाँले अनुशासन नमान्ने मानिसको रुपमा उल्लेख गर्नु भएको छ । मैले २०२६ सालदेखि पार्टीमा काम गर्दै आएको छु । ५० वर्ष लामो राजनीतिक जीवनमा अनुशासनविहीन नहुने, तर अहिले अनुशासनविहीन कसरी भइयो ? यो चीजलाई हेर्ने फरक शैलीका कारणले हो । क. एमबीले कम्युनिस्ट अनुशासनको नाममा भिन्न मत राख्नेलाई अनुशासन अधिभूतवादी ढंगले लागु गर्न चाहनु हुन्छ । जसका कारण यो स्थिति उत्पन्न भएको हो ।

क. एमबीले मलाई विगतमा फुटेर गएकाहरुलाई जस्तै दक्षिणपन्थी हुने भविष्यवाणी गर्नु भएको छ । म र अन्य निष्कासित साथीहरु फुटेर गएका छैनौं । निष्काशित गरिनु र फुटेर जानु अलग कुरा हुन् । हामी अहिले निष्कासित हौं । फरक विचार भएपछि बस्न र टिक्न नदिए पछि हामी के गर्ने ? हामी पार्टी छोडेर भागेका छैनौं । पार्टी लाइनका बारेमा हाम्रा मतभेदहरु छन् । तैपनि महाधिवेशनको लाइनलाई मानेर जाने भन्दा भन्दै पनि क.एमवीले एक वा अर्को बहानामा एक एक गरेर पार्टीबाट सफाया गर्दै हुनुहुन्छ । रुपन्देहीमा म पराजित भएको कुरा बडो गर्व साथ एमबीले प्रस्तुत गर्नु भएको छ । तर त्यहाँ मलाई जिल्लामा आउन नदिन के के हथकण्डा अपनाउने काम भयो भन्ने कुरा त जगजाहेर छ । तर ती सबै कुराले मलाई कुनै फरक पारेको छैन । त्यसलाई स्वाभाविक ठानेको छु । मेरो कसैसँग पूर्वाग्रह छैन ।

अहिलेसम्म पार्टी्भित्रका मतभेदहरुका कारण पार्टी्भित्र बस्नै नसकिने अवस्थाछैन । पार्टी्भित्र मतभेद कायम राखेर काम गर्न सकिने अवस्था छ । क. माओ लामो समयसम्म छन् तु स्यु, वाङमिङ र लिलिशानहरुको नेतृत्व मानेरै काम गर्नु भएको थियो । तर हामीले महाधिवेशनको लाइन मानेर काम गर्छौंं भन्दा पनि कथित अनुशासनको डण्डा वर्षाउन छोड्नु भएन । दर्जनौं साथीहरुलाई भूमिकाविहीन बनाइरहनु भएको छ । हामीलाई निष्काशित गरिसकेपछि पनि हामीमाथि पार्टी फुटाल्न लागेको आरोप लगाउनु भएको छ । हामीले बाहिर बसेर पार्टी नीतिलाई सहयोग गर्छौं भन्दा पनि हामीलाई दुश्मनको कित्तामा उभ्याउन खोजिरहनु भएको छ । भोलि बहुमतको लाइन झन्पछि झन् दक्षिणपन्थी सुधारवादी बन्दै गयो र सुधार्ने आशा समाप्त भयो भने म मात्र होइन, थुप्रै साथीहरु पार्टीमा बस्न सकिने अवस्था रहँदैन । त्यो बेला एउटा क्रान्तिकारी पार्टी निर्माणको सम्भावनालाई कसैले इन्कार गर्न सक्दैन । तर अहिले म लगायतका कमरेडहरु निष्काशित भए पनि बाहिरै बसेर पनि पार्टीलाई सहयोग गर्नुपर्छ भन्ने नै हो । हाम्रो अर्को कुनै उद्देश्य छैन । क. एमबीको निष्कासितहरु फुटेर पार्टी बनाएर जाउन भन्ने जतिसुकै शुभकामना भए पनि कोही फुटेर जाँदैन । क. एमबीको यो मुराद पूरा हुँदैन ।

अहिलेसम्म पार्टी लाइनलाई मानेर अगाडि बढिरहेको बेला क. एमबीले एउटा सांस्कृतिक कार्यक्रम परिचालन गर्न बनेको समितिलाई पार्टी बनायो भनेर डंका पिटनु भयो र अन्धाधुन्ध आक्रमण शुरु गर्नुभयो । क. एमबीको यो पुरानै रोग हो, हामीले यसलाई स्वाभाविक रुपमा लिएका छौं । हामी अझै पनि बसेर छलफल गर्न सक्छौं । यो पार्टी निर्माणमा हामी धेरै साथीहरुको पसिना बगेको छ । क. एमबीले पार्टीलाई नीजि सम्पत्ति जस्तो ठान्नु भएको छ भने त्यो भूल हुुनेछ ।

क.एमबी चरित्र हत्याको राजनीतिमा उत्रेपछि हामी पनि उहाँको चरित्र हत्या गर्न नैतिक बन्धनबाट फुकुवा भएका छौं । तर व्यक्तिगत चरित्र हत्यामा उहाँ उत्रे पनि हामी त्यसप्रकारको चरित्र हत्याको राजनीतिमा उत्रदैनौं । हामीले यदि चारित्रिक कुरा उठाउने हो भने हाम्रो पार्टीप्रति नै जनताको विश्वास टुट्ने छ । विगतमा उहाँकै चारित्रिक कुराले थुप्रै इमान्दार कार्यकर्ताहरु पार्टी छाडे । कैयौं मानिसहरु उहाँ कै कुराले हाम्रो पार्टीमा आउन चाहेनन् । यो तितो सत्यबाट पनि हामीले पाठ सिक्नु राम्रो होला । कैयौं साथीहरु चुप लागेर बस्नु भएको छ । यसलाई यदि एमबीले कमजोरी ठान्नुभयो भने पनि त्यो भूल हुनेछ । तर उहाँका दक्षिणपन्थी राजनीतिक विचारबारे आलोचना गर्ने वा नगर्ने भन्ने विषयमा हामी विचार गर्दैछौं । उहाँलाई पार्टी चाहिन्छ वा चाहिंदैन हामीलाई थाहा छैन । किन कि कैयौं पटक दर्जनौं साथीहरुको बीचमा भन्ने गर्नु भएको छ “विश्व कम्युनिस्ट आन्दोलनमा कैयौं पार्टी कोल्याप्स (विसर्जन) भए, हाम्रो पार्टी पनि विसर्जन हुन सक्छ ।” तर हामी शोषित पीडित दलित उत्पीडित सर्वहारावर्गलार्ई सच्चा कम्युनिस्ट पार्टी चाहिन्छ । त्यसकारण हामीमाथि थुप्रै उत्पीडित जनताको भरोसा छ । त्यो भरोसा माथि कुठाराघात गर्न चाहन्नौं ।

म अन्तमा पुनः अनुरोध गर्दछु । मैले जिम्मेवार पी.वी.एम. कमरेडलार्ई फोन मार्फत् अनावश्यक आरोप प्रत्यारोप बन्द गर्नका लागि बसेर छलफल गरौं भनेको छु । फागुनको १७ गते पार्टीको वक्तव्यपछि १८ गते एक जना पीवीएम कमरेडलाई फोन मार्फत् भेट हुने कुरा राखें । उहाँले भेट हुने र छलफल गर्ने विषयमा सकारात्मक संकेत दिनु भएको थियो । तर क. एमबीले त्यसलाई बेवास्ता गर्नुभयो । मैले ३ दिनसम्म पर्खेर २० गते वक्तव्य जारी गरें । अहिले पनि पार्टीलाई व्यवस्थित पार्न के के गर्न सकिन्छ । निष्काशित र अनिष्काशित सबै कमरेडहरुले विचार गरौं । पार्टीको हितलार्ई केन्द्रमा राखेर काम गर्ने हो भने सबै कुरा व्यवस्थित हुनेछ । व्यक्तिगत इगो र महत्वकांक्षालाई केन्द्र मान्ने हो भने समाधानको बाटो देखिंदैन । कुन कुराको हितलाई केन्द्रमा राख्ने ? त्यो कुरा प्रति गम्भीर हुन म सम्पूर्ण कमरेडहरुलाई अनुरोध गर्दछु । (साभार:-हाँक साप्ताहिक)