कोरोना संक्रमण : नेपाल भ्रमण वर्ष २०२० रद्द गरिदै

431
views

काठमाडौं, २, चैत्र । कोरोना भाईरस संक्रमणका कारण विश्वभर संकट आएपछि सरकारले नेपाल भ्रमण वर्ष २०२० रद्द गर्ने भएको छ । भ्रमण वर्ष स्थगित गरेको सरकारले रद्द नै गर्ने टुंगो लगाइसकेको छ । यसको अन्तिम निर्णय भने यसै हप्ता बस्ने मन्त्रिपरिषद् बैठकले गर्ने बुझिएको छ ।

सरकारी विश्वस्त स्रोतका अनुसार कोरोनाले विश्व महामारी घोषणा भइरहेको अवस्थामा रद्द गर्नु नै ठिक हो भन्ने टुंगोमा पुगिएको हो । अबको मन्त्रिपरिषद् बैठकमा रद्दको प्रस्ताव लगी निर्णयमा पुगिने स्रोतको भनाई छ ।

भ्रमण वर्ष मनाएर २० लाख पर्यटक भित्राउने सरकारको योजना थियो । तर, कोरोना भाइरसका कारण दुई महिनायता पर्यटक निकै घटेका थिए । पर्यटनको मौसम आइसक्दा व्यवसाय समेत धराशायी भएको छ ।

सरकारले हिमाल आरोहणमा समेत एक महिनाका लागि रोक लगाएको छ । वसन्त ऋतुमा यसवर्ष हिमाल आरोहण नहुने सम्भावना रहेको छ । यसबाट सरकारले करोडौ नोक्शान पर्ने देखिएको छ ।