दोविल्ला–फलेवास सडक अतिक्रमणले उठिवास

मुआब्जाविना व्यक्तिको उठिवास लगाउने गणतान्त्रिक विकास

2321
views

पर्वत, ३, चैत्र । दोविल्ला–फलेवास सडकखण्ड अन्र्तगत यहाँका एक स्थानीयको उठिवास लगाउनेगरी जग्गा सडकमा परेपछि विभिन्न निकायमा उजुरी परेको छ । पर्वतको फलेवास नगरपालिका–६ देविस्थानका जायश्वर गौडेलको जग्गा सडकले अतिक्रमण गरेपछि उनको उठिवास लाग्ने अवस्था आएको हो ।

सडक निर्माणका क्रममा सार्वजनिक जग्गालाई छाडेर व्यक्तिगत जग्गा नापजाँच गरेपछि आफ्नो सम्पत्तिको नाममा भएको घर, कटेरो समेत सडकमा परेको गौडेलले सुनाए । सडक निर्माणका क्रममा चक्लाबन्दी भएको सडकले फाल्न लागेको घर कटेरा देखाउँदै गौडेलले भने ‘शुरुमा सडक खन्दा पनि मेरो जग्गा नै सकियो, अहिले मापदण्डका नाममा समेत घर कटेरा जानेगरी नापजाँच भएपछि उठिवास नै लाग्ने भएको छ ।’

गौडेलले जिल्ला प्रशासन कार्यालय पर्वत, फलेवास नगरपालिकाको कार्यालय, फलेवास नगरपालिका वडा नं–६ देविस्थान, वडा नं ४ मुडिकुवा, र पूर्वाधार विकास कार्यालय पर्वतमा सडक निर्माणका क्रममा जग्गा अतिक्रमण हुनबाट बचाई उचित निकास पाऊँ भनि निवेदन दिएका थिए ।

सडक छेउमा सार्वजनिक जग्गा मिचेर बनाइएको घर


गौडेलले विभिन्न निकायमा दिएको निवेदन उपर कुनैपनि सुनुवाई भएको छैन् । फलेवास नगरपालिका वडा नं ४ को कार्यालयले नै बलमिचाईमा जग्गा मिच्ने प्रक्रियालाई बढवा दिएपछि व्यक्तिको उठिवास लाग्ने अवस्था सिर्जना भएको गौडेलको भनाई छ ।

पीडितले फलेवास नगरपालिका अन्र्तगतको वडा नं ४ मा पहिलो निवेदन दिएका थिए । तर, वडा अध्यक्ष टिकाराम गौडेलले आफ्नो जग्गापर्ने भएपछि मेरो जग्गातिर सडकलाई नापजाँचमा पारे पीडित गौडेलले भने ‘सार्वजनिक सडक छेउको जग्गा मिचेर बनाइएका शौचालय, घर, टहरा नहटाउने र केवल मेरैमात्र घर कटेरा जानेगरी नापजाँच गरिनु उठिवास लगाउने खेल हो ।’

दोविल्ला–फलेवास सडक चक्लाबन्दी अन्र्तगत सडक विभाग कार्यालयले नापी अनुसार बाटो चक्लाबन्दी गर्दा सार्वजनिक जग्गा मिचेर बनाएका घरटहराका साथै सार्वजनिक जग्गा छाडेर व्यक्तिको जग्गा कटान गर्न नापजाँच गरेको थियो ।

गौडेलका अनुसार सडक विभागले नापजाँच गरेको जग्गा कटान गर्दा आफ्नो नाममा रहेको कि नं ११७, कि.नं. ७८७, कि.नं. ७८६ का सबै जग्गा कटानमा पर्ने र जग्गा कटानपछि घर, कटेरा बनाउने समेत जग्गा रहँदैन ।

मिचिएको सार्वजनिक जग्गा छाडेर व्यक्तिगत जग्गा हडपेको देखाउँदै पीडित -जायश्वर गौडेल


स्थानीय हिरादेवी गौंडेलले नगरपालिकाले सार्वजनिक जग्गा खोजी नगरी व्यक्तिको जग्गा कटान गरेको भन्दै नापी ल्याएर भएपनि पहिले सार्वजनिक जग्गा खोज्नुपर्ने र सार्वजनिक जग्गाले पनि नपुगेकोको खण्डमा मात्र व्यक्तिको जग्गा कटान गरी सडक निर्माण गर्नुपर्ने बताईन् ।

सडक विभागले सडकलाई आवश्यक पर्ने जग्गा कटान गर्दा ६ मिटर सार्वजनिक जग्गा छाडेर व्यक्तिगत जग्गा हडपी नापजाँच गरेको स्थानीयको आरोप छ ।

दोविल्ला–फलेवास सडककालेपत्रेसहित चक्लाबन्दीका लागि गण्डकी प्रदेश सरकारले ३२ करोड रुपैयाँ विनियोजन गरेको थियो । उक्त सडक निर्माणको जिम्मा फेवा कन्ट्रक्सन प्रा.लि.लाई दिइएको थियो ।

गतबर्षको कार्तिकदेखी २४ महिनामा निर्माण सम्पन्न गर्ने गरी टेण्डर आव्हान गरिएको उक्त सडकको काम तिव्र गतिमा भैरहेको छ ।