पर्दा पछाडिकी नारी

1428
views

⌈कविता⌉
–लाईशा भुसाल
छोराछोरी दुबै समान त हुन नि !
मेरो छोरा पनि यही हो
छोरी पनि यही हो भन्दै
भाषण गर्दै हिड्नेले पनि
कास, भन्दै छोराको आस कहिले छोडेन।

जति नै आधुनिकताले छोएपनि
छोराले बुहारी भित्राएपछि
ऊ घरै नआएर
छोरीले हेरचाह गरिरहँदा पनि
समानताको भाषण फुक्ने समाजले
छोरा त बुढेसकालको सहारा हो भन्न कहिले छोडेन।

बालापनमै छोरीलाई रातो र गुलाबी
छोरालाई निलो हरियो
छोरीलाई गुडिया
छोरालाई गाडी भन्दै
इच्छा नै नबुझी उनलाई चल्न सिकाउने समाजले
छोराले सक्छ र गर्नुपर्छ
तर
छोरीले सक्दिन गर्नुहुँदैन भन्दै
प्रत्येक शब्दमा
“तिमी त छोरी मान्छे हो
छोरी मान्छेले यो गर्नुपर्छ
छोरी मान्छेले यस्तो गरेको सुहाउदैन“ भन्दै
छोरीहरुलाई आँखा तर्न कहिले छोडेन।

बाबाआमाको प्यारी बनेर
समाजका कुरालाई देखेको नदेखी गरी
“छोराछोरी समान त हुन नी“ भन्दै
स्नाकोत्तर सम्म पढेकी छोरी
बिहेपछि घर जाँदा
दश कक्षा पास छोराले जागिर गरिरहँदा
समानताको भाषण फुक्ने समाजले
छोरीको बेरोजगारी देख्न, कहिले सकेन।

छोरीलाई ज्वाइँको समर्थन सहयोग
तर बुहारीलाई छोराको समर्थन
“आउन नपाउँदै छोरालाई जोइटिङ्ग्रे बनाई“
भन्न समाजले कहिले छोडेन।
बुहारी गर्भवती हुँदा खुसी हुने समाजले
सन्तान भन्दा पनि
“नाती आउने भयो“ भन्दै खुसी बाड्न कहिले छोडेन।

अङ्गमै असमानता छ त यहाँ
समानता कसरी भेटिन्थ्यो र?
सुर्यको किरणले पनि धुलोको कण देखाउँछ
तर समानताको भाषण मात्र फुक्ने समाजले
नारीको यथार्थता र काबिलियत कसरी देख्थ्यो र?