प्रदेश २ को नाम र राजधानीको टुंगो लगाउन मतदान

468
views

जनकपुरधाम, ४, फागुन । प्रदेश नं २ को नाम र राजधानीका लागि सहमती नजुटेपछि मतदानबाट टुंगो लगाउने प्रक्रियामा गएको छ । प्रदेश सभामा मंगलबार प्रदेशको राजधानी र नामबारे मतदान हुँदैछ । प्रदेशसभाको पहिलो बैठक बसेको २५ महिनापछि नाम र राजधानी टुंग्याउन सांसदले मतदान गर्दैछन् ।

कार्यव्यवस्था परामर्श समितिको बैठकमा पहिले राजधानी र पछि नामको प्रस्ताव पेश गर्ने सहमति गरेको थियो । राजधानी जनकपुर कायम गर्ने प्रस्तावमा नेकपा, राजपा, समाजवादी र कांग्रेसको एउटै प्रस्ताव छ ।

नामबारे फरक–फरक धारणा छन् । नेकपाले नाम जानकी प्रदेश राख्न प्रस्ताव गरेको छ भने कांग्रेसले मिथिला भोजपुरा राख्न प्रस्ताव गरेको छ । राजपा र समाजवादीले मधेश प्रदेश राख्न प्रस्ताव गरेका छन् ।सभामा १०७ जना सांसद छन् । सरकारको नेतृत्व गरेको समाजवादी पार्टीका ३०, राजपा २५, नेकपा ३२, कांग्रेसका १९, संघीय समाजवादीको १ सिट छन् ।

नाम र राजधानी प्रदेशसभाको दुईतिहाई बहुमतले पारित हुने संवैधानिक व्यवस्था छ । समाजवादी र राजपासँग स्पष्ट बहुमत भएपनि दुईतिहाई र्पुयाउन कांग्रेस वा नेकपाको समर्थन जरुरी छ ।