पर्वत जिल्ला कारागारमा कैदीबन्दीलाई सकस

1369
views

पर्वत ।  जिल्ला कारागार पर्वतमा क्षमताभन्दा बढी कैदीबन्दी राख्नुपर्दा कैदीबन्दीहरूलाई समस्या भएको छ । २५ जना मात्र राख्न मिल्ने कारागारमा ८१ जना पुरुष र ८ जना महिला गरी ८९ जना खाँदिएर बस्नुपरेको निमित्त जेलर हरिकृष्ण शर्माले बताए । क्षमताभन्दा बढी कैदी बन्दीलाई खाँदेर राख्नुपर्दा बस्न, सुत्न, शौचालय र धाराको पानी प्रयोग गर्न समस्या भएको उनको भनाइ छ। ‘२५ कैदीको क्षमता रहेको कारागारमा ३ गुणा बढी कैदी र थुनुवालाई राख्नुपरेको छ ।’

निमित्त जेलर शर्मा भन्छन्, ‘शौचालयको प्रयोग गर्न लाइनमा बस्नुपरेको छ, उनीहरूलाई बस्न र सुत्न पनि उस्तै समस्या छ ।’ कारागारमा पुरुषहरूलाई राख्नका लागि ६ वटा कोठा र महिलाको लागि एउटा कोठा छ। ती कोठामा पर्वत, स्याङ्जा, कास्की र तनहुँ जिल्लाका कैदी बन्दी छन् । पर्वत कारागारमा पुरुष कैदीको सङ्ख्या ७३, महिलाको संख्या ७ गरेर ८० जना तथा थुनुवातर्फ ८ जना पुरुष र १ जना महिला गरेर ८९ जना रहेका छन् । तिनीहरूमध्ये सबैभन्दा बढी करणी मुद्दाका छन् भने दोस्रोमा कर्तव्य ज्यान मुद्दाका छन् ।

जबरजस्ती करणीमा २४ जना कैदी र २ जना थुनुवा रहेका छन् भने कैदीमध्येका २ जना विदेशी नागरिक रहेका छन् । यस्तै जबरजस्ती हाडनाता करणी मुद्दाका २ जना, जबरजस्ती करणी उद्योगमा ४ जना र जबरजस्ती करणी तथा अप्राकृतिक मैथुनमा २ जना रहेका छन् ।

यस्तै, कर्तव्य ज्यानसम्बन्धी मुद्दामा रहेका २३ जनामा २२ जना कैदी र १ जना थुनुवा रहेका छन् । कैदीमध्ये ४ जना महिला छन् । निमित्त जेलर शर्माका अनुसार रहजनी चोरीमा ६ जना कैदी, नकवजनी चोरीमा ४ जना, लागुऔषधमा ३ जना, सवारी ज्यानमा २ जना, जिउ मास्ने तथा मानव बेचबिखनमा १ जना, केही सार्वजनिक अपराधमा १ जना, ज्यान मार्ने उद्योगमा २ जना, गौबधमा २ जना, बहुविवाहमा ४ जना, कुटपिट तथा अंगभंगमा २ जना, ठगी किर्तेमा १ जना र बालयौन दुरुपयोगमा ४ जना कैदी बन्दी छन्।महिला कैदीबन्दी राख्नका लागि छुट्टै भवन निर्माण गर्न थालिएको भए पनि त्यो भवन भने अलपत्र परेको छ ।

पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङलाई समेट्ने गरी निर्माण थालिएको एक मात्र महिला बन्दीगृह ९ वर्षदेखि अलपत्र अवस्थामा छ । २०६६ सालको माघ महिनाबाट भवन निर्माण सुरु गरिएकोमा छेकाबारेको लागि रहने बाहिरी भित्ता निर्माण गरेपछि बजेट अभाव भन्दै भवन निर्माण कार्य अलपत्र छ।बन्दीगृह निर्माण स्थल सम्याउने, जग राख्ने र दुईतर्फको भित्ता निर्माण गर्ने काम सकिएको छ । तर, आवश्यक परेको बजेट नआउँदा ९ वर्षअगाडि इँटाबाट निर्माण गरिएका भित्ताहरू समेत पल्टने अवस्थामा पुगेका छन् भने बन्दी गृह निर्माण गर्न लागिएको ठाउँमा बुट्यान र घाँसले ढाकेको छ ।