कोरोना संक्रमण रोक्न सरकारको रणनीति

700
views

सीताराम थापा । कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको बैठकबाट सरकारले अत्यावश्यक कामबाहेकको अवस्थामा घर बाहिर ननिस्कन आह्वान गरेको छ ।

त्यस्तै पार्टी प्यालेस, मठ मन्दिर, गुम्बा, मस्जिद, चर्चजस्ता धार्मिक र सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन बन्द गर्ने निर्णय पनि गरेको छ । सार्वजनिक यातायातमा पनि सिट क्षमता भन्दा बढी यात्रु नबोक्न आग्रह गरेको छ । त्यस्तै भीडभाड गरी यात्रा नगर्न सर्वसाधारणलाई पनि आग्रह गरेको छ । मानिसहरुको जमघट हुने सार्वजनिक महत्वको स्थलहरुमा स्थानीय तहहरुले दैनिक रुपमा सरसफाइ र डिसइन्फेक्सन गर्नुपर्ने पनि निर्णय गरेको छ ।

मूलुकबाट नेपाल आउन प्रतिबन्ध
सरकारले कोरोना भइरस (कोभिड (१९) को संक्रमण देखिएका देशहरुबाट नेपाल आउन पूर्ण प्रतिबन्ध गरेको छ ।बुधबारको बैठकले युरोपका सबै मुलुक, पश्चिम एसिया लगायत खाडी क्षेत्रका मुलुक, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया र जापानबाट आउने र ती मुलुकलाई ट्रान्जिट बनाएर आउने सबै मुलुकका यात्रुलाई नेपाल आउन रोक लगाएको हो ।

यो प्रतिबन्ध २० मार्च अर्थात शुक्रबारबाट लागू हुनेछ र १५ अप्रिलसम्म कायम रहनेछ ।

चैत मसान्तसम्म विद्यालय र कलेज बन्द
बैठकले चैत मसान्तसम्म विद्यालय तथा कलेज बन्द गर्ने निर्णय गरेको छ । बाल विकास केन्द्र तथा आधारभूत विद्यालय पनि बन्द गर्ने निर्णय भएको छ । चैत ६ गते हुन लागेको एसईई परीक्षा भने हेल्थ डेस्क स्थापना गरेर सुरक्षित एवं व्यवस्थित रुपमा सम्पन्न गर्ने निर्णय भएको छ ।कक्षा ११ र १२, स्नातक, स्नातकोत्तर लगायतका परिक्षा के हुने भन्नेबारे चाहिँ निर्णय मा उल्लेख गरिएको छैन ।

सिनेमा हल, जिम र डान्सबार पनि बन्द
बैठकले ३० अप्रिलसम्म सिनेमा हल, खेल स्थल, जिम, डान्स बार तथा क्लब लगायतलाई बन्द गर्ने निर्णय गरेको छ ।सांस्कृतिक केन्द्रहरू, रंगशाला, खेलस्थल, जीम, हेल्थ क्लब, म्युजियम, स्वीमिङ पुल, मनोरञ्जन स्थान, डान्स बार तथा क्लब आदिलाई ३० अप्रिल २०२० सम्म बन्द गर्ने ।’

सपिङ मलमा स्यानिटाइजर अनिवार्य
बैठकले होटल, रेष्टुरेन्ट तथा सपिङ्ग मलको सञ्चालकलाई हात सफा गर्ने स्यानिटाइजर लगायत सफाइका सामग्रीको प्रबन्ध गर्न अनिवार्य गरेको छ । टेबल, कुर्सी, बार–रेलिङ र शौचालय आदि स्थानमा नियमित रुपमा डिसइन्फेक्सन गर्न पनि भनिएको छ ।

साथै, तापक्रम मापन गर्ने उपकरण तथा सामग्रीको व्यवस्था गरी ती स्थानहरुमा प्रवेश गर्ने व्यक्तिको सवास्थ्य जाँच गर्ने पनि निर्णय भएको छ । प्रहरीले बरामद गरेको मास्कमध्ये ५ लाख मास्क स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लाई दिने निर्णय भएको छ ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिले स्वास्थ्य कर्मीका लागि ५ लाख मास्क दिने निर्णय गरेको हो ।बाँकी मास्क साझा स्वस्थ्य सेवा सहकारी संस्था लिमिटेडमार्फत विक्री वितरण गर्ने प्रबन्धका लागि पठाउने निर्णय गरिएकोछ ।

प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुले बुधबार मात्रै १० लाख थान मास्क बरामद गरेको छ । मंगलबार महाराज गञ्जले बुधबार १४ हजार मास्क पनि बरामद गरेको थियो ।

होटल र बसलाई संक्रमणरहित बनाउनुपर्ने
अब सार्वजनिक सवारीलाई संक्रमणमुक्त गर्ने गरी स्यानिटाइजर छर्केर मात्रै सञ्चालन गर्नुपर्ने भएको छ ।सर्बसाधारणहरुमा विश्वव्यापी रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड (१९) सम्बन्धी भ्रम फैलाउनेलाई सरकारले कारबाही गर्ने निर्णय गरेको छ ।