सरकार कोरोना संक्रमितको निःशुल्क उपचारमा

414
views

काठमाडौँ, १०, चैत । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरस पोजेटिभ देखिएका कुनै पनि बिरामीलाई सरकारले उद्धार गरेर उपचार गर्ने बताएका छन । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले कुनै पनि कोभिड–१९ का बिरामी भेटिए सरकारले निःशुल्क उपचार गर्नेसमेत बताए ।

‘कुनै व्यक्तिमा कोभिड–१९ पोजेटिभ देखिए हामी हवाईमार्ग वा स्थलमार्गबाट त्यस्ता व्यक्तिको सुरक्षितरूपमा उद्धार गरेर अस्पताल लैजान्छौं र उपचार गर्छौं उनले भने नेपालमा पनि कोरोना पोजेटिभ देखिएकोले थप सावधानी अपनाउनुपर्छ ।’

फ्रान्सबाट नेपाल आएकी १९ वर्षीया युवतीमा कोभिड–१९ देखिएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । गत मङ्गलबार आउनुभएका उहाँको परीक्षणका क्रममा कोभिड–१९ पोजेटिभ देखिएपछि आइतबार बेलुका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएको देवकोटाले बताए ।

मन्त्री ढकालले कोभिड–१९ पोजेटिभ देखिएका व्यक्तिका सम्पर्कमा रहेका परिवार तथा साथीभाइ पनि क्वारेन्टाइनमा राखी उपचार गरिने जानकारी दिए । उनले परिवारलाई समेत होम क्वारेन्टाइनमा राखिएको जानकारी दिदैं फ्रान्सबाट आएका साथीभाइको समेच खोजी गरिरहेको बताए ।

आइतबारदेखि चीन र भारतका सीमा एक हप्तासम्म बन्द गरिएको जानकारी गराउँदै ती दुई देशबाट आएका नेपालीलाई होम क्वारेन्टाइनमा बस्नसमेत भनिएको बताए । कोरोना अतिप्रभावित ५५ देश र ती देशबाट ट्रान्जिट भएर आउने यात्रुलाई नलिने भनेर निर्णय भए पनि केही अपवादका घटना भएपछि होम क्वारेन्टाइनमा पठाइएको समेत जानकारी दिए ।

हवाईमार्गबाट आएका र तत्काल आफ्नो बस्ने व्यवस्था नभएकाहरुलाई सरकारले खरिपाटीमा राखेको छ । बाहिरबाट आएका सङ्क्रमितलाई अप्ठ्यारो भयो भने सरकारले तोकिएका क्वारेन्टाइनमा बस्ने व्यवस्था समेत मिलाएको छ ।

सबै प्रदेशमा टेकु अस्पतालस्तरीय प्रयोगशाला

सातै प्रदेशका मुख्यमन्त्री र सामाजिक विकासमन्त्रीको बैठकपछि सबै प्रदेशमा टेकु अस्पतालमा रहेको स्तरको प्रयोगशाला निर्माण गरिने जानकारी मन्त्री ढकालले दिए । सम्बन्धित प्रदेशमा कोभिड–१९ सँग सम्बन्धित रोगका बारेमा मात्र उपचार गर्ने गरी परिभाषित गरेर अस्पताल निर्माण गरिने उनको भनाई थियो ।

सञ्चारमाध्यमलाई कोरोना भाइरससँगको लडाइँलाई कमजोर बनाउने खालका सूचना प्रवाह नगर्नसमेत मन्त्री ढकालले आग्रह गरे ।

कोरोना भाइरससँग सम्बन्धित औषधि सामग्री ल्याउनकालागि विदेशस्थित कूटनीतिक नियोगबाट पहल भइरहेको बताउँदै उनले विदेशबाट अत्यावश्यक सामग्रीको सुनिश्चिता हुनेबित्तिकै सरकारले तयारी अवस्थामा राखिएका हवाईजहाजलाई पठाइने जानकारी दिए ।

सरकारले चीन र भारतबाट सामग्री ल्याउने तयारी गरेको छ । मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले टेकुस्थित प्रयोगशालालाई विस्तार गरेर कोरोना भाइरसको नमूना परीक्षण बढाइने जानकारी दिए ।