तीन साताका लागि वेलायत ‘लकडाउन’

838
views

एजेन्सी, ११, चैत्र । कोरोना भाइरसको संक्रमण तीव्र हुन थालेपछि बेलायतले पनि मुलुकलाई ‘लकडाउन’ गरेको छ । प्रधानमन्त्री बोरिस जोन्सनले तीन साताका लागि देशभर ‘लकडाउन’ को घोषणा गरेका हुन् । मानिसहरु दिनको एकपटक मात्रै घर बाहिर निस्कन पाउने छन् ।

अत्यावश्यक काममा जाने, अत्यावश्यक सामग्री किन्ने काम त्यही समयमा गर्नुपर्ने भनिएको छ । औषधी पसल तथा अत्यावश्यक सामग्री बाहेकका पसल बन्द गर्नपनि प्रधानमन्त्री जोन्सनले निर्देशन दिएका छन् ।

दुईजना भन्दा बढी जम्मा हुन नपाउने निर्देशन दिँदै प्रधानमन्त्री जोन्सनले नयाँ नियम नमान्नेलाई जरिवाना तिराउनेसहितका कडा कारवाही गरिने चेतावनी दिएका छन् । बेलायतमा अहिलेसम्म कोरोना भाइरसका कारण ३३५ जनाको मृत्यु भैसकेको छ भने ६६ सय ५० जना संक्रमित भएका छन् ।

सबै पुस्तकालय, जिम, खेल मैदान, चर्च तथा धार्मिक भेला, विवाह समारोहमा रोक लगाइएको छ । अन्त्येष्टि समारोह भने गर्न पाइनेछ । सडक र रेल नेटवर्क खुल्ला रहेपनि त्यो अत्यावश्यक सेवाका कामदारले मात्र प्रयोग गर्न पाउने छन् ।