कर्णाल फुकिरहेछ कोभिड–१९

552
views

⌊कविता⌉

–परशुराम कोइराला
यो विश्व महामारी संकट शिक्षा !
यो महान संक्रमण त्रास
कठै, विश्व विजेता उपज ! नयाँ बाजा बजिरहेछ
कर्णाल फुकिरहेछ कोभिड सेना
एउटै नवीन साझा विश्व बनाऊ भनिरहेछ
कठै, रासायनिक, जैविक, पुँजीवाद संकट !
प्रविधि उपकरण नभई लड्न सकिन्न
नाकाबन्ध नगरी विनाएकता लड्न सकिन्न
मद्दत नमागी, नलिइ, असल नियत नराखी लड्न सकिन्न ।

धनी गरिब एकै हुन् भनिरहेछ कोरोना
विश्व पुँजीवाद परिणामै अनाथ रहेछ
अवोध, अपाङ्ग रहेछ र स्वाधीन हुन बाँकी रहेछ मानिस
पुरातन भ्रम हुस्सु समाधान हुँदै होइन भनिरहेछ
स्वर्गनर्क ईश्वर,उपनिषदहरू कसरी मुक्ति दर्शन मानिसका ?
नित्सेका उहिल्यै मृत ईश्वर !
प्लेटो, सेलिङ, हेगेल, फ्रायड,फायरवाख, माक्र्स लेनिन, माओ
बृहस्पति, कपिल, चारुवाग, माध्व, निम्वार्क, बल्लभ, सिद्धार्थ
कसका असफताले आज यस्तो ?
कोरना सोध्छ अहिले
कारण, मानिस आफै भनिरहेछ यो
कपिलका भौतिकवादी सांख्य दर्शन फेल खाएको छैन
कर्णादका परमाणुवाददेखि माक्र्सहरू फेल खाएका छैनन्
श्रमिक मानिसनै मालिक रहेछन् विश्व पाल्ने भनिरहेछ यो
लेण्डुप विरोधी आत्मनिर्भर, स्वाधीन क्रान्ति दीयो बालिरहेछ
निर्मल आकाशमुनि अभाव मडारिएका कैदखाना !
देशभेष, वर्ग, वर्ण हेर्दैन कोरोना ।

विगत गल्तीबाट सिकौं भन्छ कोरोना
सङ्गठित तागतले सम्भव छ
अज्ञानता र अव्यवस्थितलाई लौरा लगाउ भनिरहेछ यो
व्यवस्थित दुनिया पार्न नयाँ चेतना हुर्काइरहेछ
मानव एकता खोजिरहेछ त्यो ।

आर्थिक क्रान्तिका समय होइन लकडाउन
यो दैनिकी माथिको विश्व संकट !
पेट, खाना, नाना, बास, औषधि, विश्व संकट
ठप्प छ उत्पादन, आयात, निर्यात
यतिन्जेलका मानव हामी निरीह रहैछौं
नक्कली शिव, यशु, बुद्ध रहेछौं
आफैले आफैलाई मार्ने,संकट थोपर्ने, बण्डाबन्धन !
केवल पराधीन दर्शक !
तल्सिङ सेवक हलो, खोक हल्लुडा, गैंची, सावेल
डोका, भारी, मलखाद हुनुमा गर्व छैन अब
कोकले, हुट्टिट्याङ हुनुमा गर्व छैन
पुँजीवादकै चरम संकट रहेछौं ।

धमिरा, मुसाले खोक्रिएका, चुसिएका
नाकमा पोतिएका काला धब्बा नचिन्ने
फुलवारी, बन बगैंचा, पुर्खा शिर नचिन्ने, नबुझ्ने
धार्मिक क्रान्तिका समय होइन लकडाउन
हेर, आकाश, धर्ती आतंकित छ
गाभा, गुन्द्रुक, घैया, अनदी, सन्दुक, मधुस आतङ्कित छन्
स्याखु, खुर्पेटा, हँसिया, बाउसा, कटेरा, महल आतङ्कित छ
बेसार, हलेदो, जुवानो, मरिच, कागती, अदुवा, जीरा रोप
टौवा, गौवा हुर्काउ भन्छ कोरोना
साग, तोरी,आलु, पिंडालु साग, मुला रोप भन्छ कोरोना
हिजोझैं ढोलक, दमाहा नबन्न भन्छ कोरोना
अर्नी, जाउलोमा सोत्तर नहौ भन्छ त्यो
ढुङ्ग्री, बुलाकी, टीकापोते बन्धनमा नबाँच भन्छ त्यो
अब सीप र पौरखविहीन थाँक्रा, भर्याङ जिन्दगी नबाँच
विवेकहीन मुङ्ग्रा न हौ भनिरहेछ त्यो
लास, दास, कुपोषण न हौ भनिरहेछ
विश्व साझा हो भनिरहेछ
श्रमका उपज, श्रमिक महान भनिरहेछ
भोक, रोग, नीद सबैको उस्तै सिकाउने गुरु कोरोना !
सङ्कट चिनाउने र समाधान गुरु कोरोना !
धर्ती साझा, रोग साझा सबैका भनिरहेछ र पुँजिवादकै सङ्कट,
चुनौति बनिरहेछ कोरोना ।

कर्णाल फुकिरहेछ कोभिड सेना
पुँजीवादकै चरम सङ्कट रहेछ सबका सब ।