अमेरिकामाथि आधुनिक डकैतीको आरोप

453
views

एजेन्सी, २२, चैत । जर्मनी लैजान ठिक्क पारिएका दुई लाख मास्क अमेरिकातर्फ लगिएपछि अमेरिकामाथि ‘आधुनिक डकैती’ को आरोप लगाइएको छ । बर्लिनस्थित एक स्थानीय सरकारले अमेरिकामा बनाइएका ती मास्क ब्याङ्ककमा जफत गरिएको बताएको छ ।

बीबीसीका अनुसार बर्लिनको प्रहरीका निम्ति मगाइएका ती एफएफपीटू मास्क गन्तव्य पुग्न पाएनन्।बर्लिनका आन्तरिक मामिलामन्त्री आन्द्रियास गिजेलले ती मास्क अमेरिकातर्फ लगिएको ठानिएको बताए ।

मास्क निर्माता अमेरिकी कम्पनी थ्री एमलाई कोरियाली युद्धताका निर्मित कानुनको उपयोग गर्दै राष्ट्रपति ट्रम्पले आफ्ना उत्पादन अन्य देशमा निर्यात गर्नबाट प्रतिबन्ध लगाइदिएका थिए ।

शुक्रवार ट्रम्पले डिफेन्स प्रोडक्शन एक्ट नामक कानुनको प्रयोग गरेर मेडिकल सामग्रीको आपूर्ति घरेलु माग धान्नकै निम्ति अमेरिकी कम्पनीहरूलाई बाध्य गराइएको बताए । ट्रम्पले झन्डै दुई लाख एन९५ रेस्पिरेटर मास्क, एक लाख ३० हजार सर्जिकल मास्क तथा छ लाख पन्जा जफत गरेर अमेरिकी अधिकारीहरूले कब्जामा लिएको बताए ।

तर, ती कहाँ त्यसरी जफत गरिएका हुन् भन्ने उनले खुलाएनन् । जर्मन मन्त्री गिजेलले त्यसरी बर्लिन ल्याउन लागिएको मास्कलाई अन्यत्र लगिनु ‘आधुनिक डकैती’ सरह भएको बताए । उनले ट्रम्प प्रशासनलाई व्यापारका नियम मान्न भनेका छन् ।