कोरोनाबाट मृत्यु हुनेको संख्या ७४ हजार नाघ्यो

544
views

एजेन्सी, २५, चैत्र । विश्वभर कोरोनाबाट संक्रमित हुनेको संख्या १३ लाख ४३ हजार नाघेसागै मृत्यु हुनेको सख्या ७४ हजार ६ सयभन्दा बढी पुगेको छ । दुई लाख ७८ हजारभन्दा बढी संक्रमित निको भएर घर फर्किएका छन् ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या तीन लाख ६४ हजार नाघेको छ भने १० हजार ८ सयभन्दा बढीको मृत्यु भइसकेको छ । अमेरिकामा १९ हजारभन्दा बढी उपचारपछि घर फर्किएका छन् ।

त्यसैगरी, इटलीमा १६ हजार ५ सय २३ जनाको मृत्यु भइसकेको छ भने संक्रमित हुनेको संख्या १ लाख ३२ हजार ५ सय नाघेको छ । त्यहाँ २३ हजार भन्दा बढी संक्रमित उपचारपछि स्वस्थ भएका छन् । संक्रमितको संख्या स्पेनमा १ लाख ३६ हजार नाघेको छ । त्यहाँ १३ हजार ३ सयभन्दा बढीको मृत्यु भइसकेको छ भने ४० हजार ४ सयभन्दा बढी उपचारपछि घर फर्किएका छन् ।

जर्मनीमा संक्रमितको संख्या १ लाख ३ हजार नाघेको छ भने एक हजार ८ सय १० जनाको मृत्यु भइसकेको छ । त्यहाँ २८ हजार ७ सयभन्दा बढी उपचारपछि स्वस्थ भएका छन् । फ्रान्समा संक्रमितको संख्या ९८ हजार नाघेको छ भने ८ हजार ९ सय ११ जनाको मृत्यु भइसकेको छ ।

इरानमा संक्रमितको संख्या ६० हजार ५ सय नाघेको छ भने ३ हजार ७ सय भन्दा बढीको मृत्यु भइसकेको छ । बेलायतमा ५१ हजार ६ सयभन्दा बढीमा संक्रमण देखिएको छ भने ५ हजार ३ सय ७३ जनाको मृत्यु भइसकेको छ ।

त्यसैगरी स्वीट्जरल्याण्डमा संक्रमितको संख्या २१ हजार ६ सय नाघेको छ भने अहिलेसम्म ७ सय ६५ जनाले ज्यान गुमाएका छन् । त्यसैगरी दक्षिण एसियाली मुलुक भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या चार हजार ७ सय ७८ पुगेको छ भने १ सय ३६ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै पाकिस्तानमा ३ हजार ७ सय ६६ जना संक्रमित भएका छन भने ५३ जनाको मृत्यु भएको छ । अफगानिस्तानमा ३ सय ६७ जना संक्रमित भएका छन् भने ११ जनाको ज्यान गएको छ । श्रीलंकामा पाँच जनाको मृत्यु भएको छ भने १ सय ७८ जना संक्रमित छन । बंगलादेशमा १२ जनाको मृत्यु भएको छ भने १२३ जना संक्रमित छन ।