कालोबजारीको आरोपमा पक्राउ परेका अग्रवालको अवैतनिक दूत पद खारेज

582
views

चैत, २७, गते । कालोबजारी गरेको आरोपमा ज्वरो नाप्ने थर्मल गनसहित मङ्गलवार पक्राउ परेका सुलभ अग्रवालको वाणिज्यदुतको पद सरकारले खारेज गर्ने निर्णय गरेको छ । अग्रवाल नेपालका लागि किर्गिज गणतन्त्रका मानार्थ अवैतनिक वाणिज्यदूतको पदमा थिए ।

अग्रवाललाई कूटनीतिक सुविधा र विशेषाधिकार प्रयोग गर्दै कालोबजारी गरेको आरोपमा ज्वरो नाप्ने थर्मल गनसहित पक्राउ गरिएको थियो । बुधवार साँझ एक विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले नेपालमा रहेका सबै अवैतनिक वाणिज्यदूतहरूलाई उपलब्ध गराइएका केही विशेष सुविधा खोसिएको जनाएको थियो ।

उनीहरूलाई दिइएको नीलो नम्बर प्लेट र सवारी साधनमा राष्ट्रिय झण्डा प्रयोग गर्न दिने विगतको निर्णय अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालयका चिफ अफ प्रोटोकल शाखाले अग्रवालको पद खारेज गरिएको जानकारी किर्गिस्तानको सरकारलाई गरिएको जनाएको छ । चिफ अफ प्रोटोकल गेहेन्द्र राजभण्डारीले अग्रवालको पद खारेज गरिएको र यस बारेको जानकारी सम्बन्धित मुलुकलाई कूटनीतिक माध्यमबाट गराइएको बीबीसी नेपालीलाई जानकारी दिए ।

यसअघि आफ्नो पदीय हैसियत र विशेषाधिकारको दुरुपयोग गर्दै अग्रवाल गैरकानुनी गतिविधिमा संलग्न भएको परराष्ट्र मन्त्रालयले बताएको थियो ।

कोभिड–१९ को विश्वव्यापी संकटको अवस्थामा ज्वरो जाँच्न प्रयोग गरिने अन्दाजी ३५ सय रुपैयाँ पर्ने थर्मल गनको मूल्य बढाएर १५ हजार रुपैयाँ प्रतिगोटा बेचेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

अग्रवाल शंकरग्रुपका सञ्चालक हुन । उनले प्रयोग गर्ने २०९ (एचसीसी नम्बरको कूटनीतिक नियोगको नम्बर प्लेट राखिएको पजेरो गाडी र त्यसको डिकीमा राखिएको ६७ थान थर्मल गनसहित पक्राउ गरिएको प्रहरीले बताएको थियो । बीबीसीबाट