फर्स्यौट भयो २६ लाख, अस्तव्यस्त भयो नाली

1554
views

पर्वत, २८, चैत्र । २६ लाख बजेटमा निर्माण भएको कुश्मा नगरपालिका वडा नं १० साविक पिपलटारीको पुरानो पैह्रो–वाँके चौतारी–वितलव वडा कार्यालय हुँदै पिपलटारीको गहतेपोखरा जोड्ने सडकको नाली भत्किएको छ ।

गण्डकी प्रदेश अन्र्तगत शहरी विकास डिभिजन कार्यालयबाट विनियोजित २६ लाख रुपैयाँले निर्माण गरिएको नाली निर्माण चरणमै अस्तव्यस्त भएपनि विनियोजित रकम फस्र्यौट गरी विल भर्पाई मिलाएको छ ।

उक्त सडकको नालीले बाख्रेपानी स्थित स्थानीयको घर तथा खेत समेत वगर बनाएको छ । त्यसैमा नाली भत्किएपछि खेतीयोग्य जमिन समेत विग्रिएको र घरमा नालीको पानी पसेको स्थानीयको भनाई छ ।

पुरानो पैह्रो–वाँके चौतारी–वितलव वडा कार्यालय हुँदै गहतेपोखरा सडक मर्मत समितिका अध्यक्ष सुदीप पौडेलले उक्त रकम सम्बन्धित कार्यालयबाटै आएको टोलीले राम्रो भन्दै पारीत गरेको र खरीद गरिएको सामानमा रेट नमिल्दा १३ हजार रुपैयाँ समेत वेरुजु हुन गएको बताए ।

उनले भने ‘पुरानो पैह्रो–वाँके चौतारी–वितलव वडा कार्यालय हुँदै पिपलटारी गहतेपोखरा निर्माण समितिले समितिका सदस्य सुवास नेपालीलाई निर्माण मर्मतको जिम्मा दिएको तर केही स्थानमा भत्किएको स्विकार गरे ।

गएको असारमा सडक डिभिजन कार्यालयले सडकको निर्माण एवं मर्मत गरिएको नालीको अनुगमन गरी २६ लाख रुपैयाँको फस्र्यौट गरेको र नाली भत्किदा रकम फस्र्यौट किन गरियो ? भन्ने स्थानीयको प्रश्न छ ।