कोरोनाकारण १ लाख १९ हजार बढीको मृत्यु

611
views

काठमाडौं, २ बैशाख । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणबाट १ लाख १९ हजार ६ सयको मृत्यु भएको छ । १९ लाख २४ हजारभन्दा बढी संक्रमित भएका छन् । चार लाख ४५ हजारभन्दा बढी संक्रमित निको भएर घर फर्किएका छन् ।

अमेरिकामा ५ लाख ८६ हजारभन्दा बढी संक्रमित भएका छन् । त्यहाँ मृत्यु हुनेको संख्या २३ हजार ६ सय नाघेको छ । अमेरिकामा संक्रमितमध्ये ३६ हजार २ सयभन्दा बढी उपचारपछि घर फर्किएका छन् ।

कोरोनाका कारण इटालीमा २० हजार ४ सय ६५ जनाको ज्यान गएको छ । इटालीमा एक लाख ५९ हजारभन्दा बढी संक्रमित भएका छन् । ती मध्ये ३५ हजारभन्दा बढीलाई निको भएको छ ।

संक्रमणबाट स्पेनमा १७ हजार ७ सय र फ्रान्समा १४ हजार ९ सयभन्दा बढीको ज्यान गइसकेको छ । बेलायतमा पनि ११ हजार ३ सय २९ जनाको मृत्यु भएको छ । त्यसैगरी जर्मनीमा ३ हजार १ सय ९४, नेदरल्याण्डमा दुई हजार ८ सय र बेल्जियममा ३ हजार ९ सयभन्दा बढीले ज्यान गुमाएका छन् ।

इरानमा कोरोना संक्रमणबाट ४ हजार ५ सयभन्दा बढीको मृत्यु भएको छ । त्यस्तै, भारतमा संक्रमितको संख्या १० हजार ४ सय ५३ पुगेको छ भने ३ सय ५८ जनाले ज्यान गुमाइसकेका छन् । पाकिस्तानमा संक्रमितको संख्या ५ हजार ४ सय ९६ पुगेको छ भने ९३ जनाले ज्यान गुमाएका छन् ।