कोरोना रोकथामका लागि सहयोग बढाउदै रेडक्रस

589
views

काठमाडौं, २, बैशाख । कोभिड–१९ (कोरोना भाइरस) रोकथाम र प्रतिकार्यको लागि नेपाल रेडक्रसले आपतकालीन सेवालाई सजगताका साथ तिब्रता दिएको छ । सोसाइटीका सवै शाखाहरुले सामुदायिक परिचालन र क्वारेन्टाइनमा सहयोग गरेका छन् ।

देशभरीका क्वारेन्टाइन क्षेत्रमा संस्थाबाट ३ हजार ४ सय ८९ कम्मल, २ हजार २ सय तारपोलिन र टेन्ट, १ हजार १ सय ४२ बाल्टी र जग, ५ हजार १ सय साबुन, १ हजार ५ सय ३ वटा म्याट्रेस, २ सय ५३ तन्ना, १ हजार २ सय झुल, लगायतको सामग्री सहयोग उपलव्ध गराइएको छ । देश भरीमा गरिएका सेवाको दैनिक अपडेट सम्बन्धित अधिकारीहरुलाई दिइएको छ र अहिलेसम्म ४९ वटा अपडेट प्रकाशन गरिएको छ ।

नेपाल रेडक्रसका उप महामन्त्री हरि प्रसाद न्यौपानेका अनुसार ‘नेपाल सरकारको स्वास्थ्य मन्त्रालयसंग निकटमा रही सन् २०२० को जनवरीदेखि कोरोना भाइरसको प्रतिकार्य र रोकथाममा नेरेसोले काम गर्दै आएको छ ।’

नेपाल रेडक्रसले समस्या सुरु हुने वित्तिकै नेरेसो आपत्कालीन अपरेसन सेन्टरलाई सक्रिय बनाएको थियो । सहयोगका लागि नेपाल सरकार, रेडक्रसका अन्तराष्ट्रिय महासंघ, यूएन, लगायतका निकायसँग आवश्यक समन्वय गरी कोरोना न्युनिकरणमा सहयोग गरेको छ ।

१ लाख ४२ हजार युवा स्वयंसेवक
समुदायमा चेतना कार्यक्रम, स्थानीय संघ सस्थाहरूसँग बैठक, सूचना, शिक्षा तथा सञ्चार सामग्रीको वितरण, एफ एम रेडियो मार्फत् समुदायलाई आवश्यक सही सूचनाहरू प्रचारप्रसार गतिविधिहरुमा नेरेसोका युवा स्वयंसेवकहरु परिचालित भएका छन् ।

अग्रपंतिका स्वयंसेवकहरुले हात धुने अभियान, जानकारी पत्र वितरण, माइकिङ, औषधि छर्ने, मास्कहरुको वितरण गर्ने, जस्ता कामहरु लकडाउनमा पनि स्थानीय निकायहरुको सहकार्यमा गरिरहेका छन् । यस्तो गतिविधिबाट १ लाख ४२ हजार ५६ जना प्रत्यक्ष लाभान्वित भएका छन् । ५ लाख अठारहजार थान पम्प्लेट, फ्लेक्स र स्टीकरहरु वितरण गरिएको छ । अस्पताल र क्वारेन्टाइनका हेल्प डेक्समा ९ सय १४ जना स्वयंसेवकहरु खटिएका छन् । त्यस्तै हात धुने अभ्यास शिक्षा २ हजार २२ जनालाई दिइएको छ भने मनोवैज्ञानिक सहयोग आवश्यक परेका ८१ जनालाई टेलिफोनमार्फत् सहयोग गरिएको नेरेसोले जनाएको छ ।

तनहुँ, कास्की, ललितपुर लगायतका जिल्लामा अपांगता भएका, अति विपन्न परिवारलाई खाद्यान्न सहयोग गरिएको छ ।

देशभरीमा ३०० जना रक्तसञ्चार सेवामा कार्यरत कर्मचारी र २४० एम्बुलेन्सहरुलाई फूलबडी गाउन उपलव्ध गराइएको छ । समुदायको सहयोगको लागि एकलाख एकसय मास्क र ग्लोब वितरण गरिएको छ । केन्द्रीय कारागरमा १० थान टेन्ट उपलव्ध गराईएको छ । शव व्यवस्थापनमा समेत सहयोग गरेको छ ।

नेपाल रेडक्रसले नेपाल प्रहरीको विपत् व्यवस्थापन विभागलाई १५० थान शव व्यवस्थापन व्याग उपलव्ध गराइएको छ । त्यस्तै धुलिखेल अस्पताललाई ५० वटा तथा नेपाली सेनालाई ५० वटा व्याग दिएको छ । भक्तपुर शाखाले जिल्लाका ४ वटा नगरपालिकालाई एक÷एक लाख सहयोग उपलव्ध गराएको छ ।