कोरोना आपतमा ६ हजार ९ सय ९७ जनालाई राहत

576
views

निर्मल पौडेल
पर्वत, ८, वैशाख । विश्वभरी महामारीको रुपमा फैलिरहेको नोबेल कोरोना भाईरस कोभिड १९ ले निम्त्याएको लकडाउन र लकडाउनका समयमा ज्याला मजदुरी गर्न नपाएर समस्या भएका तथा निम्न परिवारका करिव ७ हजार परिवारले राहत पाएका हन् ।

जिल्लामा रहेका २ नगरपालिका र ५ गाउँपालिका रहेको जिल्लाका ७ वटै पालिकामा वस्दै आएका मजदुर ,गरीव अपाङ्गता भएका ,एकल महिला तथा वेशाहारा भएका परिवार लाई रु २ करोड २० लाख ५० हजार मुल्य वरावरको खाद्द सामाग्री वितरण गरिएको हो । पालिकाहरुले दिएको जानकारी अनुुसार कुस्मा नगरपालिकामा वसोवास गर्ने २७ सय ८४ परिवार लाई राहत वितरण गरिएको प्रमुख प्रशाशकिय अधिकृत हरी पंगेनीले जानकारी दिए । नगरपालिकाले विपत व्यवस्थापन कोषमा रु ५० लाख विनियोजन गरेको थियो भने विभिन्न दाताहरुवाट प्राप्त २१ लाख गरी ७१ लाख संकलन भएको थियो ।

१४ वटा वार्डहरु रहेको नगरपालिकामा पहिलो चरणको राहत स्वरुप २७ लाख पेश्की स्वरुप निकाशा गरिएको पंगेनीको भनाई छ । यसैगरी फलेवास नगरपालिकामा जम्मा भएको ६२ लाख मध्यवाट २२ लाख वरावरको खाद्दन्न वितरण गरिएको छ । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मुक्तिराम रिजालका अनुसार वार्डहरुमा सिफारिस भई आएका ६ सय ७३ परिवार लाई राहत वितरण गरिएको हो । महाशिला गाउँपालिकाका प्रवक्ता जीवनविक्रम उचैले भने थप संकट आउन सक्ने बारेमा सचेत बनेर पहिलो चरणमा राहत वितरणमा कडाइ गरिएको बताए ।

महाशिलाको कोषमा प्रकोप व्यवस्थापनको लागि १० लाख रुपैयाँ विनियोजन गरिएको छ । खाद्यान्न सङ्कटका कारण चुल्हो बल्ने अवस्था नै नरहेका ३ सय ६३ परिवारलाई प्रति परिवार २ हजार रुपैयाँ बराबरको खाद्यान्न पर्ने गरी कुल ७ लाख २६ हजारको राहत वितरण गरिएको छ ।

यस्तै, बिहादी गाउँपालिकाले झन्डै ९ लाख बराबरको राहत सामग्री ५ सय ३८ परिवारलाई बाँडिएको छ। खान नपाएर कोही पनि नागरिक मर्नुपर्ने प्रशासकीय अधिकृत ऋषिराम पन्थीको भनाई छ ।

यस्तै, पैयुँ गाउँपालिकामा पालिकाले रकमान्तर गरेर छुट्ट्याएको २५ लाख बाहेक अरूबाट कोषमा रकम जम्मा भएको छैन । सोही रकमबाट झन्डै २३ लाख मूल्य बराबरको चामल, नुन, तेल लगायतका खाद्यान्न बाँडिएको प्रशासकीय अधिकृत जितबहादुर रानाले जानकारी दिए । उनका अनुसार पैयुँमा ‘क’ वर्गमा परेका ७ सय ८४ र ‘ख’ वर्गमा परेका १ सय ७९ परिवारलाई राहत दिइएको छ ।

जिल्लाको मोदी गाउँपालिकाले कोषमा जम्मा भएको ३५ लाख रुपैयाँमध्येबाट राहत वितरणको लागि १५ लाख रुपैयाँ खर्च गरेको छ। प्रशासकीय अधिकृत किसानबहादुर क्षेत्रीका अनुसार कुल ६ सय १० परिवारको लागि पहिलो चरणमा सहयोग उपलब्ध गराइएको र समस्या भएमा पुन राहत बाँड्ने बताए ।

यस्तै, प्रकोप व्यवस्थापन कोषमा झन्डै ३४ लाख रुपैयाँ जम्मा गरेको जलजला गाउँपालिकाले राहत वितरणका लागि १५ लाख ५० हजार रुपैयाँ खर्च गरेको छ । प्रशासकीय अधिकृत अर्जुन शर्माले पालिकामा रहेकामध्ये १ हजार ६६ परिवारलाई राहत बाँडिसकिएको र आवश्यकता अनुसार थप हुँदै जाने बताए ।