पर्वतमा बालश्रमिकको तथ्याङ्कै छैन

701
views

महेन्द्र जिसी
पर्वत, २९, जेठ । बालश्रम विरुद्ध सामाजिक सचेतना र सरोकार बढाउने उद्धेश्यले हरेक वर्ष जुन १२ तारिखमा यो दिवस मनाएपनि बालश्रम बढ्दो रुपमा देखिएको छ । नेपालमा ६ लाख २० हजार बालबालबालिकाहरु बाल श्रमिकको तथ्याङ्ककमा रहेपनि पर्वतमा तथ्याङ्क समेत भेटिदैन् । सरोकारवाला निकायहरु बालश्रमिकबारे खबरविहिन अवस्थामा रहेको पाइएको छ ।
संविधानले १६ वर्षमुनीका बालबालिकाहरुलाई श्रममा लगाउन बन्देज गरेको भएपनि विभिन्न कामहरुमा बालश्रमको प्रयोग गरेको देखिने गरेको छ । बालअधिकार सुनिश्चितमा सरकारी बजेटको १० प्रतिशत रकम लगानी भएपनि बालश्रम तथ्याङ्क संकलन भएको पाईदैन । पर्वतमा अनाथ तथा श्रमिक बालबालिकाहरुको तथ्याङ्क समेत उल्लेख हुन सकेको छैन् । महिला तथा बालबालिका कार्यालय पर्वतका शाखा अधिकृत तारा सुनुवारले जिल्ला सदरमुकाममा नै बालश्रम भईरहेको जनाउँदै श्रमिक बालबालिकाहरुको विवरण चासोमा नपर्दा संकलन नगरीएको बताउनुहुन्छ ।
अधिकाँश बालबालिकाहरु सदुमुकाममा नै श्रमिकको रुपमा रहेको भएपनि सरकारी निकायसँग तथ्याङ्क नहुनुले बालश्रमिकहरको अवस्थाबारे बेखवर हुने अवस्था सिर्जना भएको पाईन्छ । ग्यारेज, सवारी सह–चालक, रेक्साचालक, होटलमा भाँडा माझ्ने र घर तथा अन्य निर्माणमा बालबालिका प्रयोग भइहेको पाईने गरेको छ । यिनिहरुको तथ्याङ्क संकलन र कानुनी विषयमा उठान नहुँदा बालबालिकाहरु श्रममा परिचालित हुनुपर्ने वाद्ययता र समस्या उत्तिकै रहेको छ ।
बालबालिकाको क्षेत्रको बजेटले सुविधा सम्पन्न होटलमा बाल अधिकारका भाषण गर्ने अधिकारकर्मीहरुले अनाथ र श्रमिक बालअधिकारको बारेमा चासो राखेको पाईदैन । सरकारी निकायले पनि कागजी प्रगतीमा बालअधिकार सुनिश्चित गराउने हुँदा वास्तविक श्रमिक बालबालिकाहरुको तथ्याङ्क बाहिर ल्याउन सकेका छैनन ।