नयाँ बिहान

1102
views

पुर्खाले चिनेका प्रत्येक खड्केरी
बिराएका ती उब्जाऊ गराहरु
बनाएका तुइन,ढुङगेसाँघु र काठेपुल
बज्यैका ढिकी,जाँतो र अँधेरी कुवा
एकान्त यात्राका ती ठाँटीहरुका
भारी बिसाउने ती सुन्दर चौतारा
सल्लाको दियालो र टुकीका
भेडी खर्कका भेडी गोठका कथा
गाई गोठ र लेकाली गोठहरुका
लेख्नु छ स्वर्णाक्षरले गर्विला कथाहरु
घ्यु, चामल र नुन, तेलका खर्पने व्यथाहरु

वुढोछ्यान ,अँगेनो डिलका कहरहरु
ज्वानो र ढिँडोले,रात गुजार्ने
सुत्केरी आमाहरुका
घरबुनाको साडी र बिझाउने राडी पाखी
ती चिसा सुत्केरी कहरहरु सम्झँदै
सलाम टक्रयाउनु छ
यी उज्याला विहानबाट

सिटामोल बिनाको भुङग्रे ज्वरो
जीवन जलबिनाको पखाला
बिफर टाइफाइड के के सँग जुधेर

दिएको यो आजको सम्भावनाबाट
सलाम दिनु छ अग्रजहरुलाई हृदयबाट नै
र कसम खानु छ
साँच्चै नयाँ युग ल्याउने धर्तीलाई साँच्चै सुन्दर बनाउने
लेख्नु छ सच्चा इतिहास निर्मम बनेर
प्रत्येक श्रम थोपा बगाउने श्रमीकका
प्रत्येकलाई बचाउने किसानहरुका
स्वस्वार्थ त्यागेर परहितका निम्ति
रगत बगाउने ती सच्चा सपुतहरुका
सपनालाई विपना बनाउनु छ
बिपनालाई फुलाउनु छ 

बैकुण्ठ प्रसाद भुसाल, कुश्मा, पर्वत