फुङ्लिङमा आगलागी, आठ घर जले, ३३ परिवार विस्थापित

669
views

ताप्लेजुङ, २०, बैशाख । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा शुक्रबार राति आगलागी भएको छ । आगालागीबाट आठघर जलेर नष्ट भएका छन् भने ३३ परिवार विस्थापित भएका छन । फुङ्लिङबजारको माथिल्लो रोडस्थित पूरानो बैंक लाइन ट्याक्सी काउन्टर क्षेत्रमा भएको आगलागी भएको हो ।

शुक्रबार राती १० बजेबाट शुरु भएको आगलागी करिव अढाइ घण्टामा नियन्त्रणमा आएको थियो । फुङ्लिङ नगरपालिकाको वारुणयन्त्र, नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको पहलमा नियन्त्रणमा आएको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए ।

प्रारम्भिक जानकारीअनुसार टेकबहादुर लेछर्बो, बिष्णु केसी, अमृत कार्की, खेम केसी, नेत्र कार्की लगायतको घर ध्वस्त भएको छ ।

यसअघि चन्द्र २०६० चैत १५ गते फुङ्लिङको मुख्यबजार वीरेन्द्रचौकमा भएको आगलागीमा ४५ घर जल्दा ५१ करोड क्षति भएको थियो ।

त्यस्तै २०६९ साल माघ २६ शेर्पाटोलमा आठघर जल्दा दुई करोड ५० लाख, २०७० साल कात्तिक १८ गते टुक्रेबजारमा आगलागी हुँदा पाँच घर जलेको र एक करोड ५० लाख तथा २०७१ चैत ९ गते तोक्मेबजार क्षेत्रमा भएको आगलागीमा ४४ घर जल्दा ३० करोड रुपियाँ बढी मूल्य बराबरको क्षति भएको थियो ।