हिमपहिरोमा बेपत्ता सातै जनाको शव प्राप्त

821
views

काठमाडौँ, २१ वैशाख । कास्की जिल्लाको अन्नपूर्ण पदमार्गअन्तर्गत हिङ्कु केभ क्षेत्रमा गएको हिमपहिरोमा परी बेपत्ता तीन नेपाली र चार विदेशी गरी सात जनाको शव प्राप्त भएको छ ।

गत वर्ष माघ ३ गते कास्की जिल्लाको अन्नपूर्ण इलाकाको हिङ्कु–केभ क्षेत्रमा हिमपहिरो जाँदा तीन नेपाली पथप्रदर्शक (गाइड) र चार दक्षिण कोरियाली पर्यटक बेपत्ता भएका थिए । नेपाली सेनाको पश्चिम पृतना पोखराअन्तर्गत सेकेन्ड रेन्जर (विशेष फौज) बटालियनबाट खटिएको सैनिक खोज तथा उद्धार टोलीले शुक्रबार बेपत्ता भएका थप एक नेपाली र चार जना कोरियाली पर्यटकको शव फेला पारेको छ ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार दुई जना नेपालीको शव घटना भएको केही दिनपछि फेला परे पनि बाँकीको अवस्था अज्ञात थियो । हिउँ पर्न रोकिएपछि उद्धारमा खटिएको सेनाले हप्ता दिनअघि दुई कोरियाली नागरिकको शव फेला पारेको थियो ।

सैनिक खोज तथा उद्धार टोलीले बाँकी एक नेपाली र दुई कोरियाली पर्यटकको खोजी जारी राखेको थियो । सबैको शव सैनिक हेलिकप्टरबाट पोखरा ल्याइएको छ ।