सरकारले शासन गर्ने राजनीतिक र नैतिक आधार गुमायो–देउवा

619
views

काठमाडौं, २६, बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले शासन गर्ने राजनीतिक र नैतिक आधार गुमाइसकेको बताएका छन् । संघीय संसदको बजेट अधिवेशनको पहिलो दिन शुक्रबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै देउवाले सरकारका गतिविधिले शासन गर्ने आधार गुमाएको बताएका हुन् ।

देउवाले कोरोना संक्रमणको विषम परिस्थितिमा कोभिड–१९ को नियन्त्रण र निर्मूल गर्न विवेकसम्मत तवरले जिम्मेवार भई कार्य गर्नु पर्नेमा सरकार यसमा पूर्णरुपले असफल भएको बताए ।

सरकारले नागरिकलाई देशमा सरकारको अस्तित्व रहेको अनुभूति गराउन सकेको छैन । महामारी विरुद्ध लड्न पूर्व तयारी, लक डाउनका बेलामा राहत, क्वारेनटाईन, अस्पताल आदीको उचित व्यवस्थापन, स्वास्थ तथा सुरक्षाकर्मी लगायत अग्रपंक्तिमा काम गरिरहेका व्यक्तिहरुको व्यक्तिगत सुरक्षा सामग्री, परिक्षण सामग्रीको आपुर्तिका कामहरु उचित तवरले भएका छैनन् ।

नेपालमा कोरोनाको पहिलो संक्रमण देखिएको ३ महिना बितिसक्दा पनि हालसम्म व्यापक परिक्षण भई सक्नु पर्नेमा अत्यन्त न्यून संख्यामा मात्र परिक्षण भएको देउवाको भनाई छ । परिक्षण सामग्रीको विश्वसनियतामा प्रश्न उठेका छन् ।

उनेले सरकारसँग विदेशमा अफ्ठ्यारोमा परेका नेपाली नागरिकको उद्दारको कुनै योजना नभएको बताए ।

विश्वमहामारीको विषम अवस्थामा भ्रष्टाचारका घटना हुनु, सरकार लोकतान्त्रिक मूल्य मान्यता र संविधानको भावना विपरित क्रियाकलापमा व्यस्त रहनु, सासदको अपहरण हुनु जस्ता अवाञ्छीत र आपराधिक गतिविधि कुनैपनि रुपले स्विकार्य नभएको बताए ।

नेपाली काँग्रेसले यी विषयलाई गम्भीरतापूर्वक लिनुका साथै अत्यन्त सुक्ष्म ढंगले विश्लेषण गरी यो सरकारले शासन गर्ने राजनीतिक र नैतिक आधार गुमाई सकेको ठहर गरेको उल्लेख गरे ।

अध्यादेश जारी गरेर सरकारले अलोकतन्त्रिक र गैरजिम्मेवार व्यवहार देखाएको देउवाको भनाइ थियो ।