अमेरिका–चीन: कोरोना उपचार र भ्याक्सिनको तनाव

1110
views

एजेन्सी । अमेरिका र चीनबीच कोरोना भाइरसको विषयलाई लिएर विवाद बढिरहँदा फेरि आरोप प्रत्यारोप भएको छ । यसपटक अमेरिकाले चीनमाथि गम्भीर आरोप लगाएको छ ।

चीनले ह्याकर लगाएर अमेरिकाको कोभिड १९ सम्बन्धि उपचार विधि र शोधसँग सम्बन्धित तथ्यांकहरु चोर्न लगाएको आरोप अमेरिकाले लगाएको हो उसले बौद्धिक सम्पत्ति चोर्न प्रयास गरेको भन्दै निन्दा गरेको छ । अमेरिकी विदेशमन्त्री माइक पम्पिओले वक्तब्य जारी गर्दै चीनलाई यस्तो हर्कत तुरुन्त बन्द गर्न चेतावनी दिएका ह्न् । अमेरिकाका कतिपय कम्पनि र प्रयोगशालामा उपचार विधि र भ्याक्सिनबारे रिसर्च भइरहेको छ ।

अमेरिकी सरकारको एफबीआई र होमल्याण्ड सेक्युरिटीको साइबर सेक्युटिरी एजेन्सीले चीनसम्बद्ध ह्याकरले अमेरिकाको कोरोना भाइरसको भ्याक्सिनबारेको शोध चोर्न खोजेको पत्ता लगाएको दाबी गरेका छन् । सम्भावित चोरीले सुरक्षित र प्रभावकारी उपचार विकल्पलाई जोखिममा पार्ने पम्पिओले बताएका छन् ।

साइबरस्पेसमा चीनको व्यवहार कोरोना महामारीभर प्रत्युत्पादक कार्यको विस्तार रहेको अमेरिकाले बताएको छ । चीनले पत्रकार, वैज्ञानिक र नागरिकलाई मौन राखेर गलत सुचनाहरु फैलाइरहेको र जसका कारण स्वास्थ्य संकटको खतरा बढेको पनि पम्पिओले आरोप लगाएका छन् ।

हिजोमात्र अमेरिकाको एफबीआईले चीनिया ह्याकरहरुले कोरोना संक्रमणको उपचार र भ्याक्सिनका शोधका डाटाहरु चोर्न खोजेको सार्वजनिक गरेका थिए ।

यसअघि अमेरिकाले चीनमाथि कोरोना भाइरस फैलाएको आरोप लगाएको थियो । उसले चीनको केही प्रयोगशालामा अनुसन्धान गर्न पाउनुपर्ने माग समेत राखेको थियो ।

चीनले पनि अमेरिकी सैनिकले कोरोना भाइरसको संक्रमण फैलाएको आरोप लगाएको थियो । वुआनमा कोरोना फैलनुमा अमेरिकी सेना जिम्मेवार रहेको आरोप चिनियाँ विदेश मन्त्रालयका अधिकारीले लगाएका थिए ।