बंगलादेशमा पाँच सैनिक सहित १ सय ७ जनाको मृत्यु

636
views

एजेन्सी । बंगलादेशमा भारी वर्षापछि आएको पहिरोमा परी मृत्यु हुनेको संख्या १ सय ७ पुगेको छ । मृत्यु हुनेमा पाँच सैनिक पनि रहेको बंगलादेशी अधिकारीहरुले जनाएका छन् । पहिरोले पुरिएको सडकको अवरोध हटाउन खटिएका सेनाको मृत्यु भएको बताइएको छ । रंगमति जिल्ला प्रशासनका प्रवक्ताले मनसुनको बर्षाका कारण जिल्लामा केही स्थानमा पहिरो गएको र पहिरोमा परी कम्तिमा पनि ६० जनाको मृत्यु भएको बताएका छन् ।
पहिरोका कारण सयौं घर डुबानमा परेका छन् भने हजारौं सर्वसाधारण समस्यामा परेका छन् । पहिरोका कारण केही गाउँसँगको सम्पर्क टुटेको छ भने सञ्चार र विद्युत सेवा अवरुद्ध भएको छ ।
वर्षाका कारण राजधानी ढाका र चटगाउँको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको बताइएको छ । भारी बर्षाका कारण उद्धार कार्यमा समेत कठिनाई भएको छ । बंगलादेशमा गत महिना मोरा नामको आँधीले ८ जनाको मृत्यु भएको थियो भने हजारौं घर डुबानमा परेका थिए ।