जसपाको केन्द्रमा ११ वटा संरचना प्रस्ताव

644
views

काठमााडौं । राजपा नेपाल र समाजवादी पार्टी एकिकरण भएर बनेको जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रमा ११ संरचना राख्ने व्यवस्था गरेको छ । शीर्ष नेताको व्यवस्थापनका लागि धेरै संरचनाको व्यवस्था गरिएको एक नेताले बताए ।

शीर्ष नेताहरूले दुवै पार्टीबाट दुई–दुईजनाको प्रतिनीधित्व रहेको चारसदस्यीय विधान तथा मस्यौदा कार्यदल बनाएका थिए । राजेन्द्र श्रेष्ठ, नवराज सुवेदी, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल रहेको त्यही कार्यदलले विधान र घोषणापत्रको पहिलो मस्यौदा बनाएर शीर्ष नेतालाई बुझाएको हो ।

प्रारम्भिक मस्यौदामा केन्द्रमा राष्ट्रिय महाधिवेशन समिति, संघीय परिषद्, केन्द्रीय समिति, केन्द्रीय राजनीतिक समिति, केन्द्रीय कार्यकारणी समिति, केन्द्रीय सल्लाहकार समिति, संघीय संसदीय दल, केन्द्रीय विज्ञ परिषद्, केन्द्रीय निर्वाचन आयोग, केन्द्रीय अनुशासन आयोग र केन्द्रीय लेखापरीक्षण आयोग रहेने व्यवस्था गरिएको छ ।

शीर्ष नेताहरूको सुझावअनुसार विधान र घोषणापत्रको प्रारम्भिक मस्यौदामा हेरफेर पनि हुनसक्ने कार्यदलमा रहेका नेताहरू बताउँछन् । ‘यो अन्तिम मस्यौदा होइन, हामीले अध्ययन र सुझाबका लागि दुवैतिरका शीर्ष नेताहरूलाई दिएका छौँ,’ कार्यदल सदस्य कर्णले नयाँ पत्रिकासँग भने । शीर्ष नेताहरूले अध्ययन र पार्टीमा छलफल गरेर सुझाबसहित पुनः समितिलाई दिने उनको भनाइ छ । त्यसपछि मात्रै कार्यदलले अन्तिम रूप दिनेछ ।

जसपा नेताहरू निर्वाचन आयोगमा दल दर्ताका लागि आवश्यक तयारीमा पनि जुटिरहेका छन् । १० वैशाखमा एकीकरण भएका दुवै दलका नेताहरूले ११ वैशाखमा निर्वाचन आयोगमा लिखित जानकारी गराएका थिए । लकडाउनका कारण आवश्यक कागजात पूरा नहुँदा दल दर्ता भएको छैन । निर्वाचन आयोगको कानुनअनुसार २५ जेठभित्र एकीकृत पार्टी दर्ता गर्ने उनीहरूको तयारी छ । त्यसैका लागि अहिले विधान र घोषणापत्रमा काम भइरहेको नेता कर्णले बताए । नयाँपत्रिकाबाट