स्वास्थ्यकर्मी र सफाई कर्मचारीलाई कोरोना संक्रमण

617
views

विराटनगर, ५, जेष्ठ । प्रदेश १ मा आइतबार कोरोना संक्रमण पुष्टि भएका तीन मध्ये एक पुरुष विराटनगर महानगरका सफाई कर्मचारी भएको खुलेको छ । उनी विराटनगर–१५ का स्थानीय हुन् ।

वडा नम्बर १५ का वडाध्यक्ष असलम आलमका अनुसार संक्रमित ३६ वर्षीय पुरुषको संक्रमणको स्रोत खुलेको छैन । ‘घरमा बाहिरबाट कोही आएका होइनन्, उनलाई कहाँबाट सर्यो हामी पहिचान गर्दैछौँ,’ आलमले भने ।

महानगरले गत बिहीबार ६ र १५ वडाका ४३ जनाको स्वाब संकलन गरी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षणका लागि पठाएको थियो । जसमध्ये ती पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले जानकारी दिए ।

आइतबार विराटनगरका दुईसहित धनकुटाकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । धनकुटाकी ३४ वर्षीया महिला स्वास्थ्यकर्मी भएको बताइएको छ ।

धरानमा विराटनगर र धनकुटाबाट ल्याएको स्वाबको एकैपटक परीक्षण रिपोर्ट आएको थियो । जसमध्ये विराटनगरका १ पुरुष, १ महिला र धनकुटाकी एक महिलामा कोरोना पोजेटिभ देखिएको हो ।

विराटनगरकी संक्रमित महिला वडा नंबर ६ की हुन् । २९ वर्षीया ती महिला केहीदिन अघि भारतबाट आएको वडाअध्यक्ष विजय कामतले जानकारी दिए । आइतबार कोरोना संक्रमण पुष्टि भएका विराटनगरका सबैलाई आइतबार साँझ नै कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा भर्ना गरिएको छ। धनकुटाकी स्वास्थ्यकर्मीलाई सोमबार ल्याइँदैछ । अन्नपूर्ण पोष्टबाट ।