भीष्म पितामह राष्ट्रवादी कि देशभक्त ?

114
views

–पुरुषोत्तम लम्साल
अरु नेपाली जस्तै म पनि बेलाबेला भावनामा बग्छु । म भित्र पनि त्यस्तै उत्तेजना जाग्छ, जुन आम नेपालीमा जाग्छ । नाकको आकार अरुभन्दा फरक होला, अरुझैं तागाधारी हुँला नहुँला, मतवाली मानम्ला नमाम्ला, मधेशी वा पहाडी हुँला नहुँला, कुनै दलको निरपेक्ष समर्थक भएँ वा भइन् तर जब राष्ट्रियताको विषय आउँछ त्यो बेला मलाई अरुलाई जस्तै चिढचिढाहट हुन्छ ।

अन्तराष्ट्रिय मञ्चमा ढाकाटोपी लाएको मान्छे देख्दा भावुक हुनु वा दौरा सुरवाल वा भोटो र भादगाउँले टोपी लाएको मान्छे देख्दा जिज्ञासु हुनु वा चन्द्र र सूर्य अंकित त्रिकोणाकारको झण्डा देख्दा उद्देलित हुनु मेरो पनि जन्मजात स्वभाव हो । यो त फगत भावना हो । उद्देलित हुने मानवीय गुण म भित्र पनि रहेछ भन्नु मात्र हो । तपाईलाई लाग्ला यो राष्ट्रवाद हो, तर होइन ।

केही दिनअघि अग्रज सञ्चारकर्मी किशोर नेपालले गरेको एउटा टिप्पणी जस्तो राष्ट्रवाद र देशभक्तिको भाष्यभित्र घुस्दा मैले धेरैपटक आफैंलाई चिमोटेर हेर्नपर्छ भन्ने लाग्छ । देशभक्ति त जन्मजात गुण होला तर त्यो राष्ट्रवाद हो कि होइन भनेर म घरिघरि आफैंसँग प्रश्न सोध्छु । म अहिले सामाजिक सञ्जालमा बरालिएको राष्ट्रवादी पुस्ता देखेर चकित हुन्छु । दलअनुसार, दलको समूहअनुसार, नेताअनुसार, नेताको कोटीअनुसार राष्ट्रवादको परिभाषा गर्ने आजको हरितन्नम् पुस्ताबीच म देशभक्तिको परिभाषा खोज्ने दुःख बिसाउने मुर्खता गर्दै गर्दिन ।

म बाँचिरहेको समयको अघिल्लो पुस्ताले देशभक्ति देखायो कि राष्ट्रवाद ? मसँगैको पुस्ता देशभक्तिमा रमाइरहेको छ कि राष्ट्रवादमा ? अन्तरसम्बन्धित लाग्ने तर फरक प्रकृतिको यो सवालमा बस्दा मथिंगल खल्बलिने रहेछ । सापेक्षतामा रहेर मेरो पुस्ताको र मपछिको पुस्ताको मनोविज्ञान केलाउने हो भने आशावादी हुनपर्ने ठाउँ कुनै कुनामा भेटिने रहेनछ । मेरो मनले के भन्छ भने देशप्रेम एउटा विशुद्ध भावनात्मक एवम् मानवतावादी भावना हो र राष्ट्रवाद तत्जनित स्वार्थ अनि त्यसभित्रको महत्वाकांक्षाको एउटा अंश । म समयपिच्छे फेरबदल हुने राष्ट्रवादको कुनै परिभाषा जान्दिन । म एउटा निश्चित आदर्श वा विचारधाराको अधीनमा रहेर गरिने राष्ट्रवादको चरित्र पनि जान्दिन । जब एउटाले देखेको वा मानेको राष्ट्रवादलाई अर्को पक्षले गलत ठहर गर्छ भने त्यसमा घुसेर तर्क्वितर्क गर्ने दुस्साहस पनि म गर्दिन ।

अन्धराष्ट्रवादको समर्थन नगर्नु भनेको देशद्रोह गर्नु हो भन्ने स्थिति जब सत्ताले उत्पन्न गर्छ त्यो भयानक अवस्था हुन्छ ।

नेपालमै पनि पाँचवर्षअघि भारतले लगाएको नाकाबन्दीपछि मौलाएको राष्ट्रवाद अन्धराष्ट्रवादकै अर्को कडी हो, जसले आजको पुस्ताको ठूलो मात्रालाई देशभक्तिको दिग्भ्रममा पारिरहेको छ । अन्धराष्ट्रवादको समर्थन नगर्नु भनेको देशद्रोह गर्नु हो भन्ने स्थिति जब सत्ताले उत्पन्न गर्छ त्यो भयानक अवस्था हुन्छ ।

देशभक्तिको अर्थ देश र देशका आयामसँग प्रेम गर्नु हो । राष्ट्रवाद त्यो देशभक्तिलाई प्रकट गर्नु हो । अभिव्यक्त गर्नु हो । देशभक्तिको प्रमाण न म माग्न सक्छु न म दिन नै सक्छु तर म राष्ट्रवादको प्रमाण माग्न पनि सक्छु र दिन पनि सक्छु । देशभक्ति भावनामा हुन्छ, मनको अन्तरकुन्तरमा हुन्छ तर राष्ट्रवाद आक्रामक भाषणमा हुन्छ, आत्माभिमानले ग्रस्त अभिव्यक्तिमा हुन्छ । देशभक्ति सततः प्रक्रियामा चल्छ तर राष्ट्रवाद प्रकट गर्नका लागि कुनै एउटा निश्चित घटना वा सन्दर्भ आवश्यक हुन्छ । कुनै बाहिरी प्रेरक तत्वको आडमा राष्ट्रवाद कुनैबेला जाग्छ र निश्चित अवधीपछि त्यो मृतप्रायः हुन्छ । देशभक्ति सदाबहार हुन्छ तर राष्ट्रवाद नियन्त्रणबाहिर गएपछि त्यो अन्धराष्ट्रवादको रुपमा प्रकट हुन्छ ।

सिधा अर्थमा सत्ताधारीप्रति आफ्नो निष्ठा प्रकट गर्नु र उनीहरुले गरेको व्याख्या अनुरुप देशको भूगोल वा सीमाको विषयमा आफ्नो धारणा बनाउनु राष्ट्रवाद नै हो ।

होला, समयक्रममा फरक-फरक प्रकृतिको र फरक-फरक आदर्शप्रेरित सरकारहरुले गरेका राष्ट्रवादका परिभाषा सही नै होलान् । ती सबैको व्याख्या राष्ट्रवाद विपरीत थियो वा अराष्ट्रवाद मान्नु मेरो तात्पर्य हुँदै होइन । सिधा अर्थमा सत्ताधारीप्रति आफ्नो निष्ठा प्रकट गर्नु र उनीहरुले गरेको व्याख्या अनुरुप देशको भूगोल वा सीमाको विषयमा आफ्नो धारणा बनाउनु राष्ट्रवाद नै हो । यदि म गलत नभए, हिजो यो राष्ट्रवाद राजभक्तिको रुपमा प्रकट हुन्थ्यो आज दलभक्तिको रुपमा अभिव्यक्त हुन्छ, फरक यत्ति हो । हिजोका राष्ट्रवादीका लागि राजा ईश्वरका प्रतिनिधि थिए, आजका राष्ट्रवादीका लागि दल, तिनका मठाधीश, सुखसुविधा र इच्छापूर्ति तिनीहरुका आदर्श र कर्तव्य राष्ट्रवाद । मानवीय मूल्य र आदर्शबाट च्यूत यो राष्ट्रवाद अहिले मेरो र मपछिको पुस्तामा फलिरहेको फुलिरहेको राष्ट्रवाद हो भन्ने मेरो निश्कर्षप्रति म आफैं लज्जित छु ।

प्रिय पाठकगण, तपाईसमक्ष महाभारतको सन्दर्भ उप्काएर एउटा प्रश्न राख्ने अनुमति माग्छु । भीष्म पितामह राष्ट्रवादी थिए वा देशभक्त ? धृतराष्ट्रका लागि वा उनका युवराजका लागि भीष्म पितामहको त्याग राष्ट्रवाद थियो वा देशभक्ति ? सिंहासन र राजाका लागि निर्दोष सेना, सन्तान दरसन्तानको उद्देश्यहीन काटमार, राजपुत्रको कुटील एवम् अनैतिक प्रतिशोधपूर्ण दुश्कर्मको साक्षी बनेर आफ्नै कूलकी बुहारीको चीरहरणलाई मौन समर्थन दिने भीष्म पितामह आदर्श राष्ट्रवादीका ज्वलन्त उदाहरण हुन् मेरा लागि । अर्थात् भीष्म पितामह देशभक्तिबाट च्यूत भएका आदर्श राष्ट्रवादी मात्र हुन् मेरा लागि ।

मेरा लागि राजभक्ति वा दलभक्ति आदर्श होइन । मेरो र मपछिको जिउँदो पुस्ताले आज अवलम्वन गरिरहेको जस्तो दलका मुख्तियार मेरा आदर्श होइनन् । यसैले अग्रज किशोर नेपालले गरेको चार शब्दको टिप्पणी मथिगंगलमा उथलपुथल ल्याउन पर्याप्त भयो । मानवता र भावनाभन्दा बाहिर गएर आफूअनुकूल शासकको प्रतिरक्षामा केन्द्रित रहेर गरिने भीष्म पितामह शैलीको राष्ट्रवादको अनुयायी म कसरी बन्नसक्छु ?

मैले उत्तर के पाएँ भने हिजोका दिनमा म मृतराष्ट्रवादभित्र बाँचिरहेको रहेछु, आजको मेरो र मपछिको पुुस्ताले बाँचिरहेको राष्ट्रवाद जस्तै । इतिहास हेरेंं, दक्षिणमा बेलायती साम्राज्य हुँदा तिनको विरुद्ध उभिने राष्ट्रवाद कहलिए । राणायुगमा एकतन्त्रको विरुद्ध र बहूदलको पक्षमा उभिने राष्ट्रवादी कहलिए । पञ्चायतकाल आयो, पञ्चायतको विरुद्ध उभिने राष्ट्रवाद भनिए । बहूदल आयो तात्कालीन सत्ताविरुद्ध उभिनेहरुलाई राष्ट्रवादीको जामा भिराइयो । गणतन्त्र आयो, राजतन्त्रका विरुद्ध उभिने मात्र राष्ट्रवाद करार भए । मैले आफैंसँग प्रश्न सोधें, त्यसो भए यी विभिन्न चरणमा देशभक्त चाँहि को थिए रु कुनैबेला कांग्रेस पनि विद्रोही कहलियो र देशप्रेमी क्रान्तिकारीमा दर्ज भयो । पञ्चायतकालमा सवर्ण र सभ्रान्त वर्ग राष्ट्रवादी कहलिए । जो जमिन्दार थिए, जो सामन्त थिए तिनी पनि हिजो राष्ट्रवादीमा कहलिए । पछि जसले तिनका विरुद्ध संघर्षको मोर्चा सम्हाले तिनीपछि राष्ट्रवादी ठहर भए ।

जब एउटाले देखेको वा मानेको राष्ट्रवादलाई अर्को पक्षले गलत ठहर गर्छ भने त्यसमा घुसेर तर्क्वितर्क गर्ने दुस्साहस पनि म गर्दिन ।

म समयपिच्छे फेरबदल हुने राष्ट्रवादको कुनै परिभाषा जान्दिन । म एउटा निश्चित आदर्श वा विचारधाराको अधीनमा रहेर गरिने राष्ट्रवादको चरित्र पनि जान्दिन । जब एउटाले देखेको वा मानेको राष्ट्रवादलाई अर्को पक्षले गलत ठहर गर्छ भने त्यसमा घुसेर तर्क्वितर्क गर्ने दुस्साहस पनि म गर्दिन ।

अहो ! म राष्ट्रवादको यो अनेक प्रवृत्तिभित्र अट्न नसक्ने मान्छे हूँ । तपाई मलाई अराष्ट्रवादी नै भन्नुस् तर यस्तो स्तरहीन र तुच्छ राष्ट्रवाद मेरा लागि किञ्चित स्वीकार्य छैन । कस्सम ! म यसलाई रत्तिभर देशभक्ति मान्दिन । मेरा लागि देशप्रेमको सम्बन्ध सत्ताधारी दल, वर्ग वा सीमाभन्दा माथि छ । त्यो जनजीवनमा होला, जातजातीमा होला, भाषामा होला, सँस्कृतिमा होला अलग कुरा । अहिलेको लोकतन्त्रमा विभाजित दल र तिनका कार्यकर्ताले अंगिकार गरेको पाखण्ड राष्ट्रवाद मेरो शस्त्र र शास्त्र दुबैभित्र पर्दैन । म कुनै एउटा दलले राष्ट्रवादको नाममा अंगिकार गरेको यो वा त्यो क्षेत्र वा भूगोलको सीमाको पक्ष र विपक्षमा रहेर गर्ने पाखण्डपूर्ण तर्क र कूतर्कको विपक्षमा छु । सत्ताको क्रुरतालाई राष्ट्रवाद करार गर्ने र सत्ताको लाचारीलाई राष्ट्रवादको श्रीपेच लगाइदिने दासप्रकृतिको राष्ट्रवादबाट मुक्त छु ।

अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पको अमेरिका फस्र्ट होस् वा भारतमा नरेन्द्र मोदीको मेड इन भारत होस् वा फ्रान्समा मार्कोनको नयाँ फ्रान्सको नारा होस्, सबै अन्धराष्ट्रवादका दृष्टान्त हुन् । नेपालमै पनि पाँचवर्षअघि भारतले लगाएको नाकाबन्दीपछि मौलाएको राष्ट्रवाद अन्धराष्ट्रवादकै अर्को कडी हो, जसले आजको पुस्ताको ठूलो मात्रालाई देशभक्तिको दिग्भ्रममा पारिरहेको छ । अन्धराष्ट्रवादको समर्थन नगर्नु भनेको देशद्रोह गर्नु हो भन्ने स्थिति जब सत्ताले उत्पन्न गर्छ त्यो भयानक अवस्था हुन्छ । जब आफूलाई समर्थन नगर्नुलाई देशभक्तिप्रति विश्वासघात गरेको रुपमा सत्ताले व्याख्या गर्छ, त्यो स्थिति राष्ट्रवाद र देशभक्ति दुबैका लागि दयनीय हुन्छ ।

म हेरिरहेको छु, मभन्दा अघिल्लो पुस्ता र मपछिको लगत्तैको पुस्ता यही चिन्ताग्रस्त अवस्थामा पो रहेछ । देशभक्तिको अलंकार लगाएर मौलाएको अभिजात्य राष्ट्रवाद मभित्रको देशभक्तिलाई पतीत गर्नपर्छ भन्ने सोच राख्छ । ऊ मेरो् बैध आलोचनालाई अराष्ट्रवाद करार गर्छ र प्रतिबन्धको प्रयत्न गर्छ । घृणालाई मलजल गर्ने यो राष्ट्रवाद कहीं कतै देशभक्तिपूर्ण छैन भन्नु मेरो तात्पर्य हो ।

मेरो लेखको आशय तपाईले बुझ्नुभयो् भने तपाई राष्ट्रवादको दलीय अवधारणाबाट मुक्त भएर देशभक्तिको शाश्वत भावनाभित्र समेट्न आफूलाई उद्यत गराउनुहुनेछ । हामी अहिले राष्ट्रवाद र देशभक्तिबीचको जुहारीमा छौं । छनौटको अधिकार पूर्णतः तपाईमा निहित छ ।