भारतबाट आएका थिए सुर्खेतका ३ जना कोरोना संक्रमित

496
views

काठमाडौ, १०, जेठ । सुर्खेतमा पहिचान भएका ३ जना कोरोना संक्रमित भारतको दिल्ली र मुम्बईबाट बाँके हुँदै आएको खुलेको छ । यही जेठ ८ गते नेपाल आएका उनीहरुमा जिल्ला प्रवेश गर्ने क्रममा नाकामै जाँच गर्दा कोरोना पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

बाँके हुँदै आएका उनीहरुको समूहको कर्णाली प्रवेशद्वार बबईर्मा यापिड डाइगोनोस्टिक (आरडीटी) जाँच गरिएको थियो । तीमध्ये १३ जनाको रिपोर्ट पोजेटिभ आएपछि उनीहरुलाई वीरेन्द्रनगरको क्वारेन्टाइनमा राखेर पीसीआर जाँच गरिएको थियो ।

कर्णाली प्रदेश अस्पतालको ल्याबमा पीसीआर जाँच गरिएकामध्ये एक महिलासहित ३ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको थियो । उनीहरुको स्वाब पुनः बाँकेको भेरी अस्पतालको ल्याबमा जाँच गर्दा पनि पोजेटिभ आएपछि शनिबार घोषणा गरिएको हो ।

संक्रमित तीनै जना पश्चिम सुर्खेतका हुन् । २ जना बराहताल गाउँपालिका र एकजना चौकुने गाउँपालिकाका हुन् ।

संक्रमित तीनै जनालाई वीरेन्द्रनगरको कालागाउँस्थित प्रदेश अस्पतालमा राखिएको महाशाखा प्रमुख तिवारीले जानकारी दिए । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य छ ।

उनीहरु समूहमा आएको भए पनि सम्पर्कमा कोको थिए भन्ने पत्ता लागिसकेको छैन । चिकित्सकको टोलीले कन्ट्याक ट्रेसिङ गरिरहेको महाशाखा प्रमुख तिवारीले बताए ।

सुर्खेतका ३ जनामा कोरोना पुष्टि भएसँगै कर्णालीमा संक्रमितको संख्या ४ पुगेको छ । यसअघि जेठ ५ गते दैलेखका युवकमा कोरोना पुष्टि भएको थियो । उनी पनि भारतबाटै आएका हुन् ।

पछिल्लो समय भारतबाट दैनिक हजार बढी संख्यामा कर्णालीवासी भित्रिरहेका छन् । उनीहरुलाई नाका प्रवेश गर्नुअघि मुख्य नाका बबईमा आरडीटी जाँच गर्ने गरिएको छ । अनलाईन खबरबाट