मकैबालीमा फौजी किराको प्रकोप

2124
views

पर्वत, ११, जेष्ठ । बाँदरले मकै बाली लगायत खेती नष्ट गर्दा हैरानी खेपेका कृषकलाई फौजी किराले समेत आकारान्त पारेको छ । पर्वतमा मकैबालीमा फौजी किराको प्रकोप बढेसँगै कृषकहरु चिन्तित बनेका छन् ।

पर्वतको जलजला गाउँपालिका स्थित धाईरिङ, नाग्लीवाङ, मल्लाज, विहादी गाउँपालिकाको वहाकीठाँटी, रानीपानी, वर्राचौर, शंकरपोखरी, कुर्घा लगायतका क्षेत्रमा फौजी किराले मकैबालीमा क्षति पु¥याएको किसानहरुको भनाई छ ।

यस क्षेत्रका किसानले फौजी किराले पछिल्लो दुईहप्तादेखि मकैखेतीमा आक्रमण गरेको बताएका छन् ।

जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले सल्यान गाउँमा देखिएको संक्रमण अहिले बढ्दो क्रममा रहेको र कृषि प्राविधिकसँग बुझ्दा मकैमा देखिएको संक्रमण फौजी किराको आक्रमण भएको बुझिएको बताए ।

जिल्ल कृषि ज्ञान केन्द्र पर्वतले स्थलगत रुपमा अनुगमन गरेर मकैमा अमेरिकन फौजी किराको प्रकोप फैलिएको ठहर गरेको जानकारी दिएको छ । ज्ञान केन्द्रका प्रमुख बासुदेव रेग्मीले कृषकको खेतमै पुगेर रोगको पहिचान गरिएको बताए ।

विहादी गाउँपालिका वडा नम्बर ४ सहित जिल्लाको २ हजार हेक्टरमा मकै लगाईएको क्षेत्रफलमा असर पु¥याएको छ । कृषि ज्ञान केन्द्रका अनुसार गतवर्ष फलेवास नगरपालिका–४ मुडिकुवामा कृषकले रोपेको बेमौसमी मकै खेतीमा यो रोगको प्रकोप देखिएको छ ।

ज्ञान केन्द्रले फौजी किराको आक्रमण रोक्नका लागि आवश्यक घरेलु विधि र विषादीको बारेमा जानकारी दिन थालेको छ ।