अब सम्भावित नाकाबन्दीको लागी तयार बनौं !

174
views

-रुद्र प्रसाद अधिकारी

बि.सं. २०७२ मा भुकम्पले नेपालीहरु पीडित भैराखेको अवस्थामा भारतले आफुले भने जस्तो गरि नेपालमा संविधान जारी नभएको निहुँमा अघोषित रूपमा नाकाबन्दी गरेको थियो । अहिले पनि कोरोनाको महामारीको समयमा भारतले निहुँ खोजेर लिपुलेकबाट मानसरोवर जाने सडक उदघाटन गर्यो जसले गर्दा नेपाललाईआफ्नो नक्सामा लिम्पियाधुरा, लिपुलेक, कालापानी सहितको नक्सा जारी गर्ने सम्मको कदम चाल्न बाध्य बनायो !

यसअघि ती भु-भागमा भारतले आफ्ना सेना राखी गतिविधि तिव्र पार्दा समेत नेपाल चुपचाप बस्दै आएको थियो । भारतको यस्तो हेपाहा प्रवृत्तिले सिमा नाघेपछि अहिले नेपालीहरुलाई एकजुट हुन बाध्य बनाएको छ । गत नोभेम्बरमा भारत स्वयम्लेएकतर्फी रुपमा लिम्पियाधुरा, लिपुलेक, कालापानी सहितका भू-भाग समेटेर आफ्नोनक्सा जारी गरे देखि नै आम नेपाली जनता भारतप्रति रुष्ट छन् । एकतर्फी रुपमा नक्सा जारी गर्ने कार्यको सुरुवात भारतीय पक्षले नै गरेको हो । लिम्पियाधुरा, लिपुलेक, कालापानी लगायतका भू- भाग नेपालका हुन् भन्ने यथेष्ट प्रमाण हुँदाहुँदै पनि छिमेकीसंगको सम्बन्ध नबिग्रियोस् भनी धैर्य भई बसेका आम नेपालीलाई पटक- पटक भारतले नै गिज्याई रहेको छ : उसले आफ्नो हेपाहा प्रवृत्ति देखाईरहेको छ ।

अहिले नेपालले पनि यथेष्ट प्रमाण जुटाई लिम्पियाधुरा, लिपुलेक, कालापानी लगायतका भू-भागसमेटेर आफ्नो नक्सा जारी गरेको अवस्थामा भारतीय मिडीयाहरुले चीनसंगजोडेरस्वाभिमानी नेपालीलाई होच्याउने, हेपेर बोल्ने र एकतर्फी रुपमा नेपालीहरु माथी खनिने गर्न थालेका छन् । इतिहासमाकहिल्यैकसैको गुलामी नगरेको स्वाधीन, स्वतन्त्र र सार्वभौम नेपालप्रति विष वमन गरिरहेका मिडियाहरु संयमित, सन्तुलित र यथेष्ट अध्ययन गरेर मात्र प्रस्तुत हुनुपर्नेमा उल्टो धम्क्याउने, थर्काउने र पेलेर अघि बढ्न खोज्ने प्रवृत्ति निन्दनीय छ ।

भारतीयहरुको यस्तो प्रवृत्तिलाई अन्य छिमेकी मुलुकहरु र विश्व समुदायले चासोका साथ नियालीरहेका छन् र तिनीहरुले भारतीय मिडियाहरूको घिनलाग्दो र तल्लोस्तरको हर्कतको मूल्यांकन गरिरहेका छन् । कूटनीतिक विषयलाई कूटनीतिक वार्ताकै माध्यमबाट सुल्झाउन सकिने धारणा राख्दै आएको नेपालले पटक-पटक वार्ताको लागि आग्रह गर्दापनि भारतले आलटाल गर्ने गरेको जगजाहेर नै छ । यस्तो अवस्थामा भारतले बुद्धिले भन्दा पनि बलले समस्याको समाधान हुन्छ भन्ने ठानेको छ भने त्यो उसको गम्भीर भूल हुन सक्छ ।

पछिल्लो पटक नेपाल र भारत दुवै देशमा एक-अर्काप्रति नकारात्मक भावना बढ्दै जानुमा भारतीय मिडियाहरुकै भूमिका बढी छ ।

पछिल्लो पटक नेपाल र भारत दुवै देशमा एक-अर्काप्रति नकारात्मक भावना बढ्दै जानुमा भारतीय मिडियाहरुकै भूमिका बढी छ । यस्तो परिस्थितीमा अब भारतले नाकाबन्दीको अस्त्र प्रयोग गरेर फेरि नेपालीलाई दुःख दिने त होइन भन्ने आम जनताको चासो र चिन्ता छ । यदि भारतले नाकाबन्दी गारिहल्यो भने आउनुहोस् उक्त नाकाबन्दीको खुलेर स्वागत गरौं । बरु भारतले लगाउनु भन्दा पहिले नै हामी त्यसको तयारी गरौं अनि नाकाबन्दी अझै कडा पारौं । किनकी अहिलेको अवस्थामा सिमा नाका टाइट गर्दा भारतबाट कोरोना संक्रमित जथाभावी आउन पाउँदैनन् । जहाँसम्म भारतमा भएका नेपालीहरु बिचल्ली पर्छन् कि भन्ने चिन्ता छ – त्यस सम्बन्धमा त्यहाँ भएका नेपालीलाई कस्तो व्यवहार गर्ने भन्ने भारत आफैले जान्ने कुरा हो किनकी भारतीयहरु पनि विश्वका विभिन्न मुलुकमा रहेको कुरा उ आफैलाई हेक्का हुनुपर्छ, नभए हामीले सम्झाउनु पर्छ, विश्व समुदायले सम्झाउनु पर्छ ।अन्तर्राष्ट्रिय मान्यता अनुसारपनि अहिलेको अवस्थामा कहिँ कसैलाई पनि त्यस किसिमको अमानवीय व्यवहार गर्न पाइंदैन मिल्दैन ।

हाम्रो अर्को चिन्ता भनेको नाकाबन्दी भयो भने भारतबाट आउने पेट्रोलियम पदार्थ तथा खाद्य सामाग्रीको आपूर्ति रोकिने हो कि भन्ने हो । यो कदमले भारत स्वयंलाई घाटा हुन्छ यद्यपि उसले घाटाको व्यापार गरिहाल्यो भने पनि त्यसको लागि तयार हुनुपर्छ । हामी आत्मनिर्भर हुने दिशातिर उन्मुख हुनु धेरै बुद्धिमानी हुन्छ । पेट्रोलियम पदार्थको खपत कम गर्न हामीले विध्युत खपतलाई बढवा दिनुपर्छ । सोको लागी विध्युत उत्पादन बढाई सरकारले नै अधिक मात्रामा विद्युतिय सामान प्रयोगमा ल्याउन प्रोत्साहन गर्नुपर्छ । खाना बनाउने इन्डक्सन चुल्होमा अनुदान दिनेदेखि विध्युतबाट चल्ने गाडी आयातमा कर छुट दिने सम्मका कुरालाई सहज एवं व्यवहारिक बनाउनुपर्छ । त्यसबाहेक पेट्रोल खानीको अध्ययन, अनुसन्धान र उत्खनन गरी मुलुकभित्रै पेट्रोलियम पदार्थ उत्पादन गर्ने कुरामा पनि अब जोड दिनुपर्छ । भारतसंग मात्रै पेट्रोलियम पदार्थ आयात गर्नुपर्ने प्रावधानलाई चुनौती दिने गरि चीनबाट पनि पेट्रोलियम पदार्थ ल्याउन सकिने गरि यसअघि गरिएको सम्झौतालाई पनि व्यवहारमा उतार्नुपर्छ । यो पनि सम्भव नभए अन्य उपाय अबलम्बन गर्नुपर्छ ।

आत्मनिर्भर बन्ने दिशामा नै अगाडी बढ्ने अर्को अचुक उपाय हो कृषि क्रान्ति । नारामा सिमित कृषि क्रान्तिलाई व्यवहारमा उतार्ने उपयुक्त मौका आएकोे छ अहिले । कोरोनाको प्रभावले गर्दा मुलुकभित्र र बाहिर गरि लाखौं युवाहरूले रोजगारी गुमाउन लागेको अवस्थामा हामीले ती युवाहरूलाई कृषितर्फ आकर्षित गर्न सक्ने हो भने हामीले अर्थतन्त्रमा नयाँ जग बसाउन सक्ने छौं । यसको लागि तत्काल कृषी उत्पादन तर्फ लाग्ने वातावरण बनाउनुको साथै कृषीका विविध योजना तथा कार्यक्रम घोषणा गरिनुपर्दछ । र त्यस्ता कार्यक्रममा सहजै सहुलियत ऋणको व्यवस्था, निस्शुल्क तालिमको व्यवस्था, आधुनिक कृषी उपकरणमा अनुदान, बाली तथा पशुपंछी बिमा कार्यक्रमको प्रभावकारी कार्यान्वयन, उत्पादित कृषी उपजको सहज भण्डारन, ढुवानी तथा नाफा सहितको खरिद सुनिश्चितता आदि कार्यक्रममा जोड दिनुपर्छ ।

जबसम्म हामी आर्थिक एवं राजनैतिक रूपमा भारतमा निर्भर रहन्छौं तबसम्म उसको हेपाहा प्रवृत्ति कायम रहन्छ । यसको अर्थ अर्को छिमेकी मुलुक चीनसंग निर्भर हुनुपर्छ भन्ने पनि होईन, उसले पनि सगरमाथामा आँखा लगाईरहेको छ । तसर्थ दुवै मुलुकसंग सन्तुलित, सुमधुर र सम्मानजनक सम्बन्ध स्थापित गर्नका निमित्त पनि हामी आत्मनिर्भर हुनैपर्छ ।
भारतीयहरुले हेपेर बोलेको देख्दा हामी नेपालीको रगत एकाएक तातेर आउँछ । अबक्षणिक रगत तताउने भन्दा पनि दीर्घकालीन रुपमा बुद्धिमानी पूर्वक अगाडी बढ्नु पर्छ । देश भित्र र बाहिर राहेका हामी सारा नेपालीहरु एक जुट हुनुपर्छ । राष्ट्रियताको सवालमा नेपालकासम्पूर्ण राजनीतिक दलहरु, मिडियाहरु लगायत सम्पूर्ण नेपाली जनता सधैंका लागिएक ठाउँमा उभिनुपर्छ ।