बजेट निर्माणको तयारी अन्तिम चरणमा

429
views

काठमाडौँ, १२, जेठ । आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट निर्माणको तयारी अन्तिम चरणमा पुगेको छ । जेठ १५ मा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक प्रावधानअनुसार अर्थ मन्त्रालय यतिबेला बजेटको अन्तिम तयारीमा जुटेको हो ।

मन्त्रालयका अनुसार आइतबारसम्म बजेटको मस्यौदा करिब तयार भइसकेको छ । मस्यौदा करिब टुङ्गो लागिसकेको छ, मन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीले भने, “यसबाहेक अन्य आर्थिक प्रतिवेदन पनि तयार भइसकेका छन् ।” मन्त्रालयले बजेटअघि आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको वित्तीय अवस्थासम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै आएको छ ।

जुन यही मङ्गलबार सार्वजनिक गर्ने तयारी छ । बजेटको मस्यौदामा पनि कतिपय कार्यक्रमको बजेट उल्ल्लेख गरिएको र केही कार्यक्रमको मात्र बाँकी रहेको प्रवक्ता खत्रीले जानकारी दिएका छन् । “जेठ १५ गतेको बजेट वक्तव्यको धेरै काम अहिलेसम्म सम्पन्न भइसकेको छ,” उनले भने । बजेट निर्माणकै लागि यतिबेला अर्थ मन्त्रालयका कर्मचारीको व्यस्तता निकै बढेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडा पनि बिहान ७ः०० बजे नै मन्त्रालयमा पुगेर बजेट निर्माणमा व्यस्त हुने खत्रीले जानकारी दिएका छन् । “मन्त्रीज्यू बिहान ७ः०० बजेदेखि राति ८ः००–९ः०० बजेसम्मै मन्त्रालयमा हुनुहुन्छ,” उनले भने । त्यस्तै कर्मचारी पनि बिहान ७ः०० बजेदेखि राति १०ः०० बजेसम्म खटिएको उनले बताएका छन् । यसरी खटिने कतिपय कर्मचारी केही आफ्नै घर जाने र केही मन्त्रालयमै बस्दै आएका छन् । (गोरखापत्रबाट)