ब्राजिल गएकालाई अमेरिका जान प्रतिबन्ध

425
views

एजेन्सी, १२, जेठ । अमेरिकाले पछिल्लो १४ दिनमा ब्राजिल गएकालाई अमेरिका जान प्रतिबन्ध लगाएको छ । दक्षिण अमेरिकी राष्ट्र ब्राजील हाल कोरोना भाइरसको संक्रमणमा अमेरिका पछि दोस्रो हटस्पट बनेको छ ।

ब्राजीलमा कोेरोना संक्रमितको संख्या ३ लाख ६३ हजारभन्दा बढी रहेको छ भने २२ हजार ७१६ जनाको मृत्यु भइसकेको छ । व्हाइट हाउसका प्रवक्ताले यो प्रतिबन्धको उद्देश्य अमेरिकामा कोही पनि संक्रमित बाहिरबाट नआउन भन्ने रहेको बताएका छन् ।

व्हाइट हाउसका प्रेस सेक्रेटरी केली म्याकेनीले भनिन्, ‘प्रतिबन्धको निर्णय ब्राजीलमा रहेका कोही पनि अमेरिकाका लागि संक्रमणको अतिरिक्त स्रोत नबनुन् भन्ने हो ।’

अब पछिल्लो दुई सातामा ब्राजील गएका कुनै पनि गैर अमेरिकी नागरिकले अमेरिकामा प्रवेश गर्न पाउने छैनन् । यसले दुवै देशको व्यापारमा कुनै समस्या नहुने समेत बताइएको छ । यो प्रतिबन्ध २८ मेदेखि लागू हुनेछ ।

यद्यपि अमेरिकी नागरिकको हकमा यो प्रतिबन्ध लागू हुनेछैन । आगामी दिनमा अन्य देशका हकमा समेत लागू गर्न सक्नेछ ।

यसअघि अमेरिकाले चीन, इरान, युरोपेली देश, बेलायत र आयरल्यान्डका नागरिकलाई अमेरिका भ्रमणमा प्रतिबन्ध लगाएको थियो । क्यानडा र अमेरिकाबीच यसअघि नै अनावश्यक यात्रामाथि प्रतिबन्ध लगाउने सहमति रहेको छ ।

ब्राजील कोरोना भाइरस संक्रमितको संख्यामा रुसलाई समेत पछि पारेर अमेरिकापछि दोस्रो नम्बरमा पुगेको हो । अमेरिकामा कोरोना संक्रमितको संख्या १६ लाख ८६ हजारभन्दा बढी रहेको छ भने करिब १ लाखको मृत्यु भइसकेको छ ।