कोरोनाका कारण दुई वर्षीया बालिकाको मृत्यु

617
views

धनगढी, १८, जेठ । बाजुराकी दुई वर्षीया बालिकाको कोरोना भाइरस को संक्रमणकै कारण मृत्यु भएको पुष्टि भएको छ । बूढीगंगा नगरपालिका–१ घर भएकी ति बालिका आमाबुबासँगै ८ दिनअघि भारतबाट नेपाल आएको जनाइएको छ ।

नेपाल प्रवेश गरेपछि उनीहरूलाई घुरालसैना माविको क्वारेन्टिनमा राखिएको थियो । क्वारेन्टिनमा रहँदा सामान्य औषधि गर्दा पनि सञ्चो नभएपछि १५ गते उनलाई जिल्ला अस्पताल बाजुरामा भर्ना गरिएको थियो ।

आइसोलेसनमा उपचार गर्ने क्रममा शनिबार बिहान करिब २ बजेतिर उनको मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रुपचन्द्र बिकले बताए ।

मृतक बालिकाका आमाको पनि कोरोना रिपोर्ट पोजेटिभ आएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले जानकारी दिए । बाबुको कोरोना परीक्षण रिपोर्ट भने नेगेटिभ आएको छ । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ पुगेको छ ।