श्रमजीवी पत्रकार हटाए आन्दोलन

1208
views

काठमाडौं, १४, असार । कोरोना भाइरस (कोभिड–१९) को महामारीलाई देखाउँदै विभिन्न सञ्चारमाध्यममा कार्यरत श्रमजीवी पत्रकारहरुलाई पेशाबाट हटाउन थालेपछि १० संगठनले आन्दोलन गर्ने चेतावनी दिएका छन ।

१० वटा पत्रकार संगठनहरु पेशागत सुरक्षाको ग्यारेण्टीको माग गर्दै आन्दोलनको पक्षमा उभिएका हुन् । मिडियाबाट विभिन्न बहानामा निष्काशन, राजिनामाको दवाव र काम गरेको पुरा तलव नदिने मिडिया व्यवस्थापकहरुको रवैया कुनै पनि हालतमा स्वीकार्य नरहेको उल्लेख गर्दै संगगठनद्वारा जारी विज्ञप्तिमा श्रमजीवी पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघलाई थप दबाबमूलक कार्यक्रम घोषणा गर्न आग्रह समेत गरेका छन् ।

विज्ञप्तिमा दर्जनभन्दा बढी मिडिया हाउसमा श्रमजीवीका गम्भीर समस्या देखिएकाले मिडिया सञ्चालकहरुले श्रमजीवी पत्रकार ऐन विपरीतका कदमहरु तत्काल बन्द गरी सहजतापूर्वक श्रमजीवीहरुलाई काम गर्ने वातावरण निर्माण गर्न जोडदार माग गरिएको छ र नेपाल सरकार सञ्चार मन्त्रालयलगायत सबै सम्बन्धित निकायहरुलाई कानुनसम्मत ढंगले समस्याको समाधानका लागि पहल गर्न हार्दिक आग्रह समेत गरिएको छ ।

वक्तव्यमा भनिएको छ, “अन्यथा श्रमजीवीको श्रमको उचित सम्मान र पेशागत सुरक्षाका लागि सशक्त आन्दोलनमार्फत दवाव दिन हामी बाध्य हुनेछौं । त्यसबाट सिर्जित परिस्थितिको जिम्मेबार स्वयं मिडिया मालिकहरु र सरोकारवाला निकाय नै हुने पनि यसै विज्ञप्तिमार्फत् स्पष्ट पार्न चाहन्छौं ।”

आइतबार जारी गरिएको वक्तव्यमा महामारीका कारण बन्द हुन पुगेका स्वरोजगारमुखी तथा साना मिडिया र रोजगारी गुमाउन पुगेका पीडित श्रमजीवी पत्रकारहरुको लागि ‘विशेष आवधिक राहत प्याकेज’को व्यवस्था गर्न पनि सरकारसँग जोडदार माग गरिएको छ ।

वक्तव्य जारी गर्नेहरुमा प्रेस संगठनका संयोजक महेश्वर दाहाल, प्रेस युनियनका अध्यक्ष बद्री सिंग्देल, क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष इन्द्र राउत, प्रगतिशील पत्रकार संघका अध्यक्ष उदय जिएम, क्रान्तिकारी पत्रकार संगठन, नेपालका उपाध्यक्ष जन्मदेव जैसी, प्रेस नेपालका अध्यक्ष केशवराज अर्याल, जनपत्रकार संगठन, नेपालकी सचिव सिर्जना तिमिल्सिना, प्रेस सेन्टर नेपालका अध्यक्ष लोकराज जैसी, मधेसी पत्रकार समाजका अध्यक्ष मोहन सिंह र लोकतान्त्रिक छापामाध्यम राष्ट्रिय समाजका अध्यक्ष दामोदरप्रसाद दवाडी रहेका छन् ।