ए आमा ! अब घर जाने हैन ?

204
views

ए आमा अब घर जानै हैन ? आमा जाने हो एकैछिन पख्न उज्यालो छ अझैसम्म त अलिकति रोपेपनि भोलीलाई सजिलो हुन्छ । बरु खेतमा लगाएको पानी मार है राती सौरहको पानी आयो भने सबै खेत बगाएर लान्छ । आमाले भन्दै गर्दा मेरो घडीमा ठिक ६ बजेर ५५ मिनेट जादै थियो । सुर्यले त १ घन्टा अगाडि नै बिदा भएको थियो र उज्यालोले पनि बिदा हुँदै अध्यारोले पनि पारिपारिका डाँडाकाँडाहरुलाई आफ्नो तर्फबाट पुरै छोपेर हराउँदै लगिरहेको थियो । पिलपिल गर्दै जुनकीरीहरु यताउता गर्दै थिए र पारि हराएका डाँडाहरुमा जुनकीरीकैजस्तै पतिहरु पिलपिल देखिदै थिए वा क्या रमाइलो लागिरहेको थियो । वारिपारिका बत्तीहरुले अध्याँरोलाई उज्यालोमा परिवर्तन गर्दै थिए र आकाशमा जुनपनि देखिन लागेका थिए तल खेतहरुमा रोपेको ठाउँमा आकाशको जुन क्या मज्जाले देखिदै थिए कता कता मनमा रमाइलो लागिरहेको थियो । मैले खेतको मुहान थुनेर सके त्यसपछि आमाले पनि रोपिरहेको बीऊ छोडेर खाजा खाएर राखेका कुनै जुठा कुनै चोखा भाँडाकँुडा समाल्नुभयो र मैले डोको ल्याएँ । माथिल्लो गरामा रहेको सबै भाँडाकँुडा हालेर बाले कोदाली मैले घाँस र आमाले भाडाँकुँडा बोकेर घरतिर हिडिरहेका थियौं । तल सेतो देखिएको खोला र खोलाको आवाजमाथि आकाशको जुनतारा, वारिपारि गाउँमा बल्दै गरेका बत्तीहरु र खेतमा आकाशको छायाँ अनि कराईरहेका झ्याऊकिरी, भ्यागुता, र चराचुरुङ्गीहरु आदि … ।

वा क्या रमाइलो समय र पल त्यो ! दिउँसो हलि दाईले हलो जोतेको बाउसेहरुले हली दाईको पछिपछि खन्दै गरेको गोरुहरु ले हरियो घाँस मुख्मा हाल्दै हलो तानेको, खेतालिहरुले आफ्नो धुनमा कुरा गर्दै गरेको, खेतमा पानी पुर्याउनेले पानी सानो आयो भनेर अरुले रोपेका खेतबाट आली काट्दै गरेको र लुकिलुकि हिलो माटोले हान्दै गरेको हिलोमा खेल्दै गरेको आदि .. !

बेलुका घरमा आएर नुवाईधुवाई सकेपछि खाना पकाउने होडबाजी चल्छ उता भोक लाग्छ ज्यान सारै दुख्छ के गर्नु मानो नरोपी मुरि कहाँबाट फल्छ होला र आमाले दिउँसो खाएका भाँडाकुँडा माझ्न लाग्नुभयो । बाले गोठमा भएका गाईवस्तुलाई घाँस हाल्ने काम गर्नुभयो र बाख्रोलाई खोरमा थुन्नु भयो र मैले भान्सामा आगो बालेर भात पकाउन लागे ..।

ए साच्चिकै,
धान रोपाइँका बेलाका ति रमाइला क्षणहरु ! बा र म खेतमा बाउसो लिएर जाने अनि हली दाइले गोरु खेद्दै हो हो तारे गायको दिन र खेतालीहरुले असार गीत घन्काएका ति दिन ।

अनि के आज पनि त्यसरी नै धान रोपिन्छ र ? कि समयको परिवर्तनसँग सबै कुराहरुलाई चटक्के बिर्सिए गाम्लेहरुले ? जब म असार पन्ध्रको आसपासबाट गुज्रन्छु, वर्षौँअघि रोपाइँका दिन गाउँमा हुने रमाइलो पटक–पटक सम्झने गर्छु । अझ मुसलधारे वर्षाको चक्र सुरु भएपछि त, यस्तो रूमानी सम्झना अझ थामीनसक्नु गरी उर्लिएर आउँछ । दिनभरिको कामको चापले थाकेको नै सही तर जुन बेलुकी घर पुग्दा आकाश उग्र भएर बर्सिन्छ—ओहो ! यसरी नै रातभरी घनघोर पानी परेपछि सुरु हुने रोपाइँको त्यो चहलपहल । छेउकुनाका झार–बुट्यान खुर्किएर र बाँझो खनेर धान रोप्न ठीक्क पारिएका खेतका गह्राहरू । पर्म लाउने–तिर्ने मेसोमा त्यसदिन हाम्रो घरमा भेला भएका लाठे र रोपाहारहरू । यता, नारिएका दुईरचार हल गोरूका पछि भिडेका जोत्ने लाठेहरूको होर्रा फर्काउँदाको हप्कीदप्की, उता रोप्ने ठाउँ तयार नहुँदै दिनभरलाई पुग्ने बिऊ उखेलिसक्ने हतारोमा रहेका ब्याडेहरूको खैलाबैला । आठ बज्नुअगावै खेतालालाई चिया–खाजाको व्यवस्थापनमा भान्साकोठाभित्र चिसा दाउरा झोसिरहेकी आमा, आफ्ना हल गोरूपछाडि झुन्डिएको हलोको अनौसँगै त्यसदिनको सारा ‘फिल्ड वर्कको कमान्ड’ आफैँ धानिरहेका बा ।

को नै फुर्सदमा हुन्थ्यो र उती बेला ? हो, बाँकी सबैलाई धमाधमको प्रतिक त्यो असारको पन्ध्र थियो । यता हामी केटाकेटीहरू पनि कहाँ उस्तो फुर्सदमा हुन्थ्याँै र ? यसरी पानी पर्न सुरु हुनु हप्ताँैदेखि नै हाम्रा सरकारी पाठशाला बर्खे बिदामा हुन्थे । त्यसैले हामी पनि के कम ? केटाकेटीका पनि छुट्टै हली, बाउसे र रोपाहार हुन्थे त्यसदिन । लाठेहरूको सिको गरी–गरी हामी खेतको अर्को छेउमा रोपाइँ सुरु गथ्र्यौँ । धमिलै पानीमा सही, भेल पसेर बौलाएको बाटोअघिको कुलोमा डुबुल्की मार्दाको त्यसदिनको उन्मुक्ति, उफ ! मलाई तत्कालै गाउँ जाउँ जस्तो पो हुन्छ । गाउँको याद गाउँमा हुँदाको रमाइलो सुखदुःख गर्दाको रमाइलो तलतिर माथ्थेर गर्दाको समय, अर्मपर्म गर्दाको समय नै प्यारो लाग्ने सहरमा यसरी कहाँ हुन्छ र रोपाइँ समय सगै परिवर्तन भएको पहिला जस्तो अहिले छैन । पहिलाका दिनहरूमा जस्तो रमाइलो पनि छैन दिनहरु यस्तो हो कि समयनै यस्तो हो कि मान्छे नै परिवर्तन भएका हुन ? धेरैजसो गाउँमा गोरु पाल्न पनि छोडेर मिनिटेलर हलो किन्दै छन् । सायद, कृषीमा आधुनिकीकरण हुँदैछ । गाउँलाई गाउनै हुन दिनुपर्छ । सहर गराउँनु हुदैन । सहर गराउँदा गाउँको सान घट्दै जान्छ । पुरानो कुराहरु हराउँदै जान्छन् । गाउँ सहर नभएको नै राम्रो । सहरमा भएका सहरिया छोराछोरीलाई गाउँको बारेमा के थाहा छ ? गाउँमा सहयोगको भवाना हुन्छ । घरहरु टाढाटाढा भएपनि.. मेरो निधारमा पानीको थोपा तप्तप् चुहिएको रहेछ म झसङ्ग भएँ । बिहान ४ बजे र २५ मिनेट गएको रहेछ मेरो घडीमा क्या मीठो सपना देख्दा देख्दै थिएँ भाईले उठायो । असारे पन्ध्रको रौनक खेतमा घन्किने समय भैसकेछ ।
आज असारे १५ मा संसारभरि छरिएर रहनु भएका समस्त नेपालीहरुमा शुभकामना ।

✍🏿 : सन्देश लामिछाने