नेकपाभित्रको विवाद चरम उत्कर्षमा, ओलीलाई दुवै पदबाट हटाउन छुट्टाछुट्टै भेला

1065
views

काठमाडौं, १८, असार । नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद चरम उत्कर्षमा पुगेको छ । नेकपाभित्र दुवै पक्षका नेताहरु रणनीतिक खाका बनाउन सक्रिय बनेका छन् । अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र उनीइतरका नेताहरुले वार कि पारका लागि रणनीतिका खाकामा सक्रिय बनेका हुन् ।

अब बस्ने स्थायी कमिटी बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे ओली र उनीविरोधी समुहले दिनभर परामर्श गरी रणनीति तयार गरेका हुन् । आज विहानै ओलीले बालुवाटारमा आफू निकटस्थ स्थायी कमिटी सदस्यहरुसँग परामर्श गरेका छन् । उनले आफूलाई सहयोग गर्न आग्रह गरेको स्रोतको भनाई छ ।

प्रधानमन्त्री ओलीले संकटकाल, मध्यावधि चुनावको घोषणा, नयाँ दल दर्तासम्मको विकल्पबारे छलफल चलाएको बुझिएको छ । नेकपा एमाले दल त दर्ता प्रक्रियामा छ ।

ओलीको संसदीय दलमा बहुमत रहेको दाबी छ । उनले संसदीय दलबाट निर्णय गर्न चुनौती दिनसक्ने सम्भावना पनि छ । पार्टीका अन्य कमिटिलाई ओलीले बेवास्ता गर्ने सम्भावना बलियो छ ।

यसैगरी, आज साँझ सानेपामा ओली हटाउन सक्रिय समुहको छुट्टै भेला भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम, सचिवालय सदस्यहरु रामबहादुर थापा बादल र नारायणकाजी श्रेष्ठका अलावा उक्त समुहका स्थायी कमिटी सदस्यहरु सहभागी भएको बुझिएको छ ।

उक्त भेलाले ओलीलाई सत्ताबाट हटाउन एकजुट भएर जाने निर्णय लिएको बुझिएको छ । त्यसैले भोलि बस्ने बैठक निर्णायक हुनसक्छ ।

ओलीविरोधीले भोलि उनलाई पद छाड्न लगाउने नभए पदबाट हटाउने निर्णय लिनसक्ने विश्वस्त स्रोतले जानकारी दिएको छ । यसको सम्पूर्ण तयारी भइसकेको छ । ओलीको पार्टी कमिटीहरुमा अल्पमत छ ।