पार्टी एकतामा संकट देखापर्यो – प्रवक्ता श्रेष्ठ

597
views

काठमाडौं, १८, असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकतामा गम्भीर संकट देखा परेको बताएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको स्थायी कमिटीको बैठकपछि प्रवक्ता श्रेष्ठले यस्तो बताएका हुन् ।

उनले पत्रकारहरुसँग कुरा गर्दै अहिले पार्टी एकतामा गम्भीर संकट देखा परेको बताए । यतिवेला एकताको संकटबाट जोगाउन शनिबारसम्मका लागि दुवै अध्यक्ष र अरु नेताहरू प्रयास गर्ने जानकारी दिए । त्यसका लागि एक दिनको समय राखेर बैठक स्थगित गरिएको पनि उनले बताए ।

आजको स्थायी कमिटीमा केशव बडाल र अमृत बोहराले धारणा राखेका थिए । उनले स्थायी कमिटी बैठक शनिबार ११ बजेसम्मका लागि स्थगित भएको बताए ।

प्रवक्ता श्रेष्ठले अध्यादेश ल्याउन लागेको हो भन्नेबारे बुझ्न अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास गएको पनि स्पष्ट पारे ।

श्रेष्ठले भने ‘उहाँ अध्यादेश आउँछ कि आउँदैन भनेर छलफल गर्न शितल निवास जानुभएको हो । राष्ट्रपति र प्रधानमन्त्री दुबैले अध्यादेश आउँदैन भन्नुभएको छ ।’ प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष दाहालसँगको समझदारी विपरित नै संसदको बजेट अधिवेशन अन्त्य गरेको पनि उनले सुनाए ।