अध्यक्षद्वयलाई पार्टीभित्रको विवाद सुल्झ्याउने जिम्मा

699
views

काठमाडौँ, १९, असार । सत्तारुढ नेकपाभित्रको विवादले गम्भिर मोड लिइरहेका बेला पार्टीभित्रको आन्तरीक विवाद मिलाउने जिम्मा दुई अध्यक्षलाई दिइएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीको बिहीबारको बैठकले पार्टीमा देखिएको आन्तरिक विवाद सुल्झाउने जिम्मेवारी पार्टीका दुई जना अध्यक्षलाई दिएको छ ।

पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको आन्तरिक विवादका कारण एकता नै गम्भीर मोडमा पुगेको हुनाले यस विषयमा दुई जना अध्यक्ष छलफल गरी टुङ्गोमा पु¥याएपछि मात्र अर्को बैठक बस्ने बताए ।

असार १० गतेदेखि सुरु भएको स्थायी कमिटी बैठकमा कार्यसूचीभन्दा फरक विषयमा बहस हुन थालेपछि पार्टी एकतामा नै असर पर्ने देखिएको हुनाले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल गरेर अर्को बैठक शनिबार बस्ने भएको छ ।

सो अनुुसार शुक्रबार दिनभरि शीर्ष नेताको बीचमा छलफल हुन्छ र त्यसबाट निस्केको निष्कर्षसहित शनिबार ११ बजे स्थायी कमिटीको बैठक बस्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

बिहीबार बसेको स्थायी कमिटीको बैठकमा सदस्यहरू केशव बडाल र अमृत बोहराले मात्र आफ्नो धारणा राखेका छन् ।

बिहीबारको बैठकमा बोहरा र बडालले पार्टी एकताप्रति चिन्ता जाहेर गरेका थिए । नेता बडालले प्रधानमन्त्री ओलीको राजीनामा मागेर समस्या बल्झेको धारणा समेत राखेका छन् ।

अर्को चुनावसम्म अध्यक्ष ओलीलाई प्रधानमन्त्री रहन दिने र चुनावपछि ओली प्रधानमन्त्री नबन्ने अरूलाई नै जिम्मेवारी दिने गरी अगाडि बढ्नुपर्ने आफूले सुझाव दिएको बताउँदै नेता बडालले पार्टीभित्र आ–आफ्नो जिम्मेवारी पूरा नगरेर पनि समस्या बल्झँदै गएको बताए ।

मङ्सिर ४ गते पार्टीमा भएको निर्णय अनुसार पार्टीको सञ्चालन अध्यक्ष प्रचण्ड र सरकारको सञ्चालन अध्यक्ष ओलीले गर्ने थियो । सदस्यता नवीकरणदेखि लिएर महाधिवेशनको तयारीसम्मको काम गर्नुपर्ने थियो तर अध्यक्ष प्रचण्डले कुनै काम गर्न सक्नु भएन र अहिले आएर सबै दोष अरूको काँधमा थुपारेको कुरा नेता बडालले बैठकमा उठाएका थिए ।

नेता अमृत बोहराले एकता खलल नपुग्ने गरी पार्टी सञ्चालन गर्नुपर्ने सुझाव दिएका छन् । नेताहरूको बीचमा देखिएको असमझदारीलाई आपसमा बसेर सुल्झाएर अगाडि बढ्नुपर्ने बताउँदै उनले पार्टीको विवादले नेता तथा कार्यकर्तामा निराशा उत्पन्न भएको भन्दै ध्यानाकर्षण गराएका छन ।