पर्वतमा चैते धानको अनुसन्धान, तीन जात सफल

724
views

महेन्द्र जिसी
पर्वत, २०, असार । परम्परागत रुपमा चैतेधान रोपिँदै आएको पर्वतमा पहिलो पटक यसको बीज अनुसन्धान भएको छ । कृषि प्राविधिकहरुले १३ प्रकारका चैतेधानको बीज अनुसन्धान गरेका हुन् । प्रधानमन्त्री कृषि आधुनिककरण परियोजना (धान जोन) र रामपुर कृषि क्याम्पस चितवनका प्राविधिकहरुले गरेको बीज अनुसन्धानमा तीन वटा जात उत्कृष्ठ रहेको ठहर गरिएको छ ।

आठ सय देखि एक हजार मिटरको उचाई सम्म फल्ने विभिन्न प्रजातीको धानमा प्राविधिकहरुले ल्याव परिक्षण गरेका थिए । किसानहरुले उत्पादन गर्दै आएका स्थानीय जात र आयातित जातको छट्टाछुट्टै परिक्षण गरिएको धान जोन इकाईका प्रमुख धनबहादुर थापाले जानकारी दिए । थापाका अनुसार जिल्लाको हावापानी र भूगोलमा हर्दीनाथ १, हर्दीनाथ ३ र चैते ५ जातका धान सफल देखिएका छन् ।

उनले वर्षौदेखि धानका जातको अनुसन्धान नभएको दाबी गर्नुभयो । ‘ कृषकहरुले वर्षौदेखि खेती गर्दै आएपनि अनुसन्धान भएको पाईएन,’ थापाले भने,‘ सिफारिस नै नभएका जात प्राय ठाउँमा लगाईदो रहेछ ।’ नयाँ नयाँ जात फेर्दै जानुपर्नेमा किसानहरुले वर्षौदेखि एउटै जात लगाउँदा अपेक्षित उव्जाउ गर्न नसकेको उनले बताए । किसानले किसानले सिएच–४५, चैते–२, चैते–४ र चैते–६ खुमलटार, टाँकमारे लगायत जात रोप्दै आएका छन् ।

कृषि प्राविधिकहरुले उच्च स्थानमा रहेको पाङको खरीबोट र तल्लो छटिय क्षेत्र कुश्माको अर्मादीमा धानको बियाड बनाएर अनुसन्धान गरेको हो । माघ महीनामा व्याड बनाएर चैत्रमा रोपिएको धान अहिले उत्पादन सम्म आई पुग्दा स्थानीय जातको धान भन्दा दोब्बर उत्पादन भएको पाईएको छ । कार्यालयका अनुसार स्थानीय जातको धान प्रति हेक्टर तीन दशमलव तीन टन प्रति हेक्टर उत्पादन भईरहकोमा अनुसन्धानरत रहेका प्रजातीका धान प्रति हेक्टर ५ देखी ६ टन प्रतिहेक्टर उत्पादन हुने अपेक्षा रहेको रामपुर क्याम्पसका अनुसन्धानकर्ता गंगाराम सुबेदीले बताए ।

पर्वतको जलजला गाउँपालिका, कुश्मा नगरपालिका, फलेवास नगरपालिका, मोदी गाउँपालिका र पैयुँ गाउँपालिकाका केहि क्षेत्रमा चैतेधान रोप्ने गरिएको छ । कृषि ज्ञान केन्द्रका अनुसार पर्वतको २८ हजार ६ सय हेक्टर खेतीयोग्य जमिनमध्ये ९ हजार ७० हेक्टरमा वर्षे र २ हजार हेक्टरमा चैते धानको खेती हुने सम्भावना छ । तर, अनुदान कटौती, कामदारको अभाव, विभिन्न रोगकिराको प्रकोपका कारण चैतेधानको खेती खुम्चिँदै जान थालेको छ ।