कालीगण्डकीमा बेपत्ता टिपर चालकको शव फेला

384
views

म्याग्दी, ३१, असार । अन्नपूर्ण गाउँपालिका–३ गुइँठे नजिकैको भीरबाट कालीगण्डकी नदीमा खसेर बेपत्ता भएका टिपर चालक २६ वर्षीय ज्ञानबहादुर पुनको शव बुधबार बिहान भेटिएको हो ।

मंगलबार साँझ गिट्टी बोकेर गुइँठेदेखि घारतर्फ जाँदै गरेको बा २ ख ३४२५ नम्बरको टिपर सडक भासिएर कालीगण्डकीमा नदीमा खस्दा मंगला गाउँपालिका–५ का पुन बेपत्ता भएका थिए ।

पुनको शव अन्नपूर्ण–६ रातोपानीमा फेला परेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । शव भुरुङ्ग तातोपानी प्रहरी चौकीको टोली र स्थानीयले निकालेका थिए । सो टिपर घारखोला जलविद्युत आयोजनाको निर्माण सामग्री ढुवानीमा प्रयोग भएको थियो ।