एकै दिनमा २० अर्ब रुपैयाँ भुक्तानी

674
views

काठमाडौं, १, साउन । सरकारले आर्थिक वर्षको अन्तिम दिन २० अर्ब रुपैयाँ भुक्तानी गरेको छ । बुधबार एकै दिनमा २० हजारभन्दा बढी चेक काटिएको सरकारको अनुमान छ । सरकारले मंगलबार २४ अर्ब ९६ करोड रुपैयाँ भुक्तानी गरेको थियो ।

कोविड–१९ का कारण सरकारले बन्दाबन्दी लगाएपछि भुक्तानी प्रभावित भएका थिए। यसले गर्दा वर्षको अन्तिम दिन भुक्तानीमा चाप परेको महालेखा नियन्त्रकको कार्यालयले जानकारी दिएको छ ।

खर्च गर्ने निकायले पठाएको भुक्तानी आदेशका आधारमा रकम भुक्तानी गर्ने कोष तथा लेखा नियन्त्रक कार्यालयले देशभरबाट सोमबार राति १२ बजेसम्म प्राप्त भुक्तानी आदेशको चेक काट्नेछ । एक आर्थिक वर्षमा सिर्जना भएको भुक्तानी दायित्व अर्को आर्थिक वर्षमा सार्दा सरकारले हर्जना तिर्नुपर्ने भएकाले आर्थिक वर्षको अन्तिममा चेक काट्न चाप परेको हो ।

गत आर्थिक वर्षदेखि सरकारका भुक्तानीमा विद्युतीय प्रणाली अवलम्बन गरिए पनि विद्युतीय भुक्तानी प्रभावकारी हुन सकेको छैन । त्यसैले चेकमार्फत नै भुक्तानी गर्नुपरेको महालेखा नियन्त्रक कार्यालयका अधिकारी बताउँछन् । कोष तथा लेखा नियन्त्रक ३ सय ८१ वटा प्रयोगकर्तामार्फत रिपोर्ट गरिरहेका छन् ।

विद्युतीय भुक्तानी प्रणाली लागू भएकाले आर्थिक वर्षको अन्तिम दिनसम्म भुक्तानी दिने व्यवस्था गरिएको हो । विद्युतीय भुक्तानीले यथार्थ समयमा रकम भुक्तानीको विवरण प्राप्त हुने भएकाले आर्थिक वर्षको अन्तिमसम्म भुक्तानी दिने छुट दिइए पनि विद्युतीय भुक्तानी प्रणाली अवरुद्ध हुँदा चेकमार्फत नै भुक्तानी दिइएको हो ।

विद्युतीय भुक्तानी सुरु हुनुअघि आर्थिक वर्ष समाप्त हुन चार(पाँच दिनअघि नै चेक काट्न बन्द गर्ने चलन थियो । अन्नपूर्ण पोस्ट दैनिकबाट