सिन्धुपाल्चोक पहिरोमा एकजनाको शव फेला, चारजना बेपत्ता

698
views

काठमाडौं, १, साउन । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नम्बर ४ मा गएराति पहिरोले दुई वटा घर पुरिँदा एक जनाको मृत्यु भएको छ ।

एकै परिवारका ४ जना वेपत्ता भएका छन् । स्थानीय ज्ञान्जेन शेर्पाको घर पहिरोमा पुरिँदा उनकी श्रीमती ३४ वर्षकी निमा साङ्मु शेर्पाको मृत्यु भएको हो । उनकी आमा ७० वर्षीया समबुट्टी शेर्पा, बहिनी ३५ वर्षीया सेम्साङ शेर्पा र छोरीहरु १५ वर्षीया याङ्जी र १२ वर्षीया आङ्मु बेपत्ता भएका वडाअध्यक्ष साङदोर्जे शेर्पाले जानकारी दिए । ज्ञान्जेन भने कामका सिलसिलामा काठमाडौंमा बस्दै आएकाले पहिरोबाट जोगिएका छन् ।

अविरल वर्षापछि राति २ बजे पहिरो खसेको थियो। पहिरोले पुरेको अर्को घरमा भने मान्छे नबस्ने वडाअध्यक्ष शेर्पाले जानकारी दिए । पहिरोले स्थानीय सेतीदेवी पञ्चकन्या प्राविको पर्खाल र भवनमा पनि क्षति पुगेको छ । घटनास्थलमा प्रहरी र स्थानीयले खोजी गरिरहेको वडाअध्यक्ष शेर्पाले बताए ।