अनलाइन कक्षा बन्द गर्न माग

698
views

पोखरा, १ साउन । महिला तथा बाल उत्थान मञ्च कास्की पोखरा १३ ले निजी तथा आवासिय विद्यालयले सञ्चालन गरेको अनलाइन कक्षा बन्द गर्न माग गरेको छ ।

अनलाइन कक्षाका कारण अभिभावक र बालबालिका दुवैलाई तनाव सृजना भएको भन्दै बन्द गर्न माग गरेको हो । अनलाइन कक्षाका लागि भन्दै अभिभावक इन्टरनेट जडान गर्न बाध्य भएको, महंगो मोवाइल र ल्यापटप खरिद गर्नुपर्ने अवस्था सृजना हुँदा अभिभावकलाई आर्थिक भार र मानसिक दबाब परेको मञ्चको भनाइ छ ।

मञ्चले नर्सरीदेखि कक्षा ४ सम्मका विद्यार्थीका लागि अनलाइन कक्षा उचित नभएको भन्दै रोक्नका लागि सरोकारवालालाई ज्ञापन पत्र समेत बुझाएको छ । भौतिक दुरी कायम गसी कोभिडसँग लड्ने वातावरण सृजना गर्दै कक्षा सञ्चालन गर्न मञ्चले माग गरेको हो ।

मञ्चकी अध्यक्ष विष्णु कार्की नेतृत्वको टोलीले जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला शिक्षा कार्यालय कास्की, पोखरा महानगरपालिका, पोखरा महानगरपालिका वडा नं १३, प्याब्सन कास्की र एनप्याब्सन कास्कीलाई ज्ञापन पत्र बुझाएको छ ।