दोस्रो सैनिक आचार संहिता सप्ताह शुरु

539
views

काठमाडौ., २, साउन । भद्रकालीस्थित जंगी अड्डामा श्रावण १ गतेबाट “दोस्रो नेपाली सैनिक आचारसंहिता सप्ताह २०७७’ शुरु भएको छ । साउन ८ गतेसम्म सञ्चालन हुने सप्ताहको प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले एक कार्यक्रमबीच शुभारम्भ गरेका हुन् ।

सो अवसरमा प्रधानसेनापति थापाले सैनिक संगठनभित्र सैनिक आचरण, नैतिकता तथा मूल्यमान्यता थप मजबुत बनाई विशिष्ट सैनिक चरित्र निर्माण गर्दै लैजाने उद्देश्यले नेपाली सेनामा वार्षिक कार्यक्रमको रुपमा “आचारसंहिता सप्ताह“ सञ्चालन गर्न शुरु गरिएको उल्लेख गरेका थिए ।

थापाले संगठन सुधारका लागि कार्यरत सबै सकलदर्जामा सैनिक मूल्यमान्यता, अटल देशभक्ति, निस्वार्थ सेवाभाव, अनुशासन र सैनिक आचरण व्यवहारिकरुपमा उच्चस्तरको हुनुपर्ने उल्लेख गर्नुपर्नेमा जोड दिए ।

सप्ताहमा सैनिक आचारसंहिता, मिडिया नीति, सामाजिक सञ्जालको प्रयोग, मानवीय आचरण, भर्ना छनौट सम्बन्धी, आर्थिक कारोवार, लैंगिक आचरण लगायतका विषयमा कक्षा सञ्चालन, प्रस्तुतीकरण, छलफल, केश स्टडी, प्रवचन जस्ता विधिहरुबाट कार्यक्रमहरु सञ्चालन हुनेछन् ।

नेपाली सेनाले २०७६ सालमा पनि वैशाख ६ गतेदेखि १३ गतेसम्म पहिलो पटक “नेपाली सैनिक आचारसंहिता सप्ताह“ कार्यक्रम आयोजना गरेको थियो भने “नेपाली सैनिक आचारसंहिता संग्रह–२०७६’ समेत प्रकाशन गरी वितरण गरिएको थियो ।