विप्लव नेकपाद्वारा सुदूरपश्चिम बन्दको घोषणा

663
views

कञ्चनपुर, २, साउन । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सेती–महाकाली ब्यूरोले साउन ६ गते सुदूरपश्चिम प्रदेश बन्दको घोषणा गरेको छ । आफ्ना नेता तथा कार्यकर्तालाई कृत्रिम मुद्दा बनाएर पक्राउ गरेको भन्दै नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सेती–महाकाली ब्यूरोले संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो ।

रचनात्मक ढंगले कामकारवाही गरिरहेको बेला सरकारले गैरन्यायिक तरिकाले धनगढीबाट पक्राउ गरेका आफ्ना नेताकार्यकर्ता रिहा नगरेको भन्दै संघर्षका कार्यक्रम सार्वजनिक गरेको ब्यूरोका कार्यालय सचिव छविलालले बताए ।

ब्यूरोले बिहिबार सार्वजनिक गरेको विज्ञप्तिमा आफ्ना नेताकार्यकर्तालाई झुटा मुद्दा लगाएर हिरासतमा लिएको घटनाप्रति भत्र्सना समेत गरेको छ ।

विप्लव पार्टीले साउन ३ गतेदेखि ८ गतेसम्म विभिन्न संघर्षका कार्यक्रम रहेको समेत विज्ञप्तिमा उल्लेख गरेको छ । जसअनुसार साउन ३ गते प्रचारप्रसार गर्ने, ४ गते कोणसभा गर्ने, ५ गते मशाल जुलुस गर्ने, ६ गते सेती महाकाली बन्द र ६ गतेदेखि ८ गतेसम्म सरकारी सवारी सञ्चालनमा प्रतिबन्ध गरेको उल्लेख गरेको छ ।

बुधबार कैलाली प्रहरीले धनगढी उपमहानगरपालिका वडा नम्बर ७ वेलीबाट विप्लव समूहका केन्द्रिय सदस्य तथा सेती महाकाली ईन्चार्ज ओमप्रकाश पुन र अखिल नेपाल महिला संगठन (क्रान्तिकारी) की सेती महाकाली व्युरो ईन्चार्ज पुर्णीमा भन्ने गौरा धामीलाई पक्राउ गरेको थियो ।