विवाद सुल्झ्याउन नेकपा सचिवालय बैठक बस्दै

632
views

काठमाडौं, ३, साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज दिउँसो तीन बजे बस्दै छ । विवाद उत्कर्षमा पुगेपछि शीर्ष नेताहरुबीच दुई पक्षीय र त्रिपक्षीय छलफलबाट सहमति नजुटेपछि नेताहरु सचिवालय बैठकमा फर्किएका हुन् । नेकपाभित्र विवाद समाधानको प्रयासमा सचिवालयमा छलफल हुन लागेको हो ।

गत असार १७ गतेदेखि सुरु भएको स्थायी कमिटीको बैठकमा अधिकांश सदस्यहरुले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुवै पदबाट राजीनामा दिएर निकास दिनुपर्ने माग गरेका थिए । प्रधानमन्त्री ओली भने दुवै पद नछाड्ने अडानमा कायमै छन् ।

यसअघि सचिवालय बैठकमा विवाद बढेपछि स्थायी कमिटी बैठक सुरु गरिएको थियो । शुक्रबार ओली र प्रचण्डबीच भएको छलफलमा स्थायी कमिटी बैठक स्थगित गरेर सचिवालय बैठक बोलाउने सहमति भएको थियो । सचिवालय बैठकपछि आइतबार अपराह्न चार बजे स्थायी कमिटीको बैठक बस्ने नेकपाका नेताहरुको भनाई छ ।