पहिरोले घाइते भएकी आलेको उपचारमा समस्या

1365
views

जितेन्द्र थापा
सुर्खेत । दैलेखको ठाटीकाँध गाउँपालिका वडा नं ३ खुडखुडिमा पहिरोले घर बगाउँदा घाइते भएकी ५० वर्षिय चन्द्रा आलेको उपचारमा समस्या भएको छ ।

गएको साउन १ गते साँझदेखी विहानसम्म परेको अविरल वर्षाले दैलेखको ठाटीकाँध गाउँपालिका वडा नं ३ खुडखुडिमा रामबहादुर आलेको घर पहिरोले बगाउदा रामबहादुर आलेसहित उनकी श्रीमति र उनका छोरा गम्भिर घाईते भएका थिए । घाइते आलेको परिवारलाई एघार घण्टापछि उद्धार गरि प्रदेश अस्पतालमा भर्ना गरिएको र अहिले आर्थिक अभावले उपचारमा समस्या भएको हो ।

अहिले आलेको घर आसपासका घर उच्च जोखिममा रहेका जतिबेलापनि पहिरो झर्नसक्ने भएकाले बस्तिलाई अन्यत्र सार्ने तयारी भइरहेको र घाइते आलेको उपचारको लागि आँफुपनि लागि परेको वडा नं ३ का वडा अध्यक्ष कर्ण बहादुर शाहीले बताए । उनको ढाडको अप्रेसन गर्नुपर्ने डाक्टरले बताएको र आर्थिक रुपमा समस्या परेकोले प्रदेश सरकारसँग र गाउँपालिकासँग भनिसकिएको छ ।

घरमा भएको लत्ताकपडा, अन्न पैसा सबै पहिराले बगायो अहिले उपचार त सपनाजस्तै भएको र घरमा समेत छाक टार्न समस्या भएको चन्द्रा आलेको छोरा सुरेश आलेमगरले बताए ।

गाउँपालिकाको वडा नं ३ का विभिन्न ठाउँमा पहिरोले दश घरपरिवार विस्थापीत भएका र खुडखुडिको सिङगो गाउँका घरहरु नै उच्च जोखिममा रहेका छन् ।

साउन १ गते साँझदेखि विहानसम्म परेको अविरल वर्षाले दश परिवार विस्थापीत भएका छन् भने पानीका पाँचवटा मुहान र सरस्वति प्रा.वि बजायाको विद्यालयमा पनि असर परेको वडा सदस्य बल बहादुर बुढाले बताए ।

तुसारे खानेपानी आयोजनाका पाँचवटा पानीका मुहान सामेत पहिरोले बगाएपछि पिउने पानीको समस्या भएको बुढाले बताए । साविकको बजाया वडा नं १ मा पिउने पानिको समस्या भएको र अहिले बर्खे मुलको पानी पिइरहेको वडा नं ३ का वडा सदस्य बुढाले बताए ।