बजारमा म्याद गुज्रेका अखाद्य वस्तुको बिक्री

457
views

पर्वत २ असार । जिल्ला प्रशासन कार्यालय पर्वतले बिहीवार गरेको अनुगमनका क्रममा अखाद्य र म्याद गुज्रेका बस्तुहरु भेटिएका छन् । अनुगमन तथा निरिक्षण एवम् सहायक प्रमुख जिल्ला अधिकारी प्रवीण ढकालको नेतृत्वमा भएको अनुगमनमा व्यावसायीहरुले म्याद नाघेका बस्तुहरु बिक्री गरिरहेको पाइएको हो । सदरमुकामका झण्डै एक दर्जन थोक बिक्रेताको पसलमा गरिएको अनुगमनमा अधिकांस म्याद नाघेको उपभोग्य सामाग्रीहरु भेटिएका हुन् । खासग मसला, बेसार, चकलेट, मिठाई, बिस्कुटहरु पनि अखाद्य भएको पाइएको छ । व्यावसायीहरुले घरको टाँसीमै सजाएर राखेका बस्तुहरु म्याद नाघेका र कुहिएका भेटिएको हो । म्याद नाघेका बस्तुहरुलाई अनुगमन टोलिले जफत गरेको छ । पहिलोपटकका लागि जफत गरेर सचेत बनाइएको र पुन अर्को अनुगमनमा यस्तै भेटिए उपभोक्ता ऐन बमोजिम आवश्यक कारवाहि गरिने सहायक प्रमुख जिल्ला अधिकारी प्रवीण ढकालले जानकारी दिए । अब निरन्तर सदरमुकाम कुश्माबजार, फलेवास, हुवास, पातीचोर, वारीबेनी लगायतका मुख्य व्यापारिक केन्द्रमा अनुगमन गरिने ढकालले बताए । पहिलो चरणमा थोक बिक्रेताको अनुगमन गरिएको र अब खुद्रा, होटल, मासु, दुग्ध डायरी, औषधी पसल, एग्रोभेट, फेन्सी लगायतमा अनुगमन गरिदै जाने बताइएको छ । अनुगमन टोलीमा उपभोक्ता मञ्च,उद्योग बाणिज्य संघ, घरेलु तथा साना उद्योग विकास समिति, तथा सुरक्षाकर्मीहरुको सहभागिता रहेको थियो ।