वीरगञ्जमा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि

493
views

काठमाडौं, १४,साउन । वीरगञ्जमा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ​ नारायाणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन उपाध्यायले जानकारी दिए।

२ देखि ६५ वर्ष उमेरका ३४ जनामा कोरोना संक्रमण देखिएको छ। जसमध्ये ५ जना बालबालिका र १० जना महिला छन्।’ उनले भने ‘ आइसोलेसनको व्यवस्थापन अझै हुन सकेको छैन, होम आइसोलेसनमा लापरबाही भयो भने परिवारमा संक्रमण फैलन सक्ने जोखिम हुन्छ।’ अस्पतालको प्रयोगशालाका अनुसार संक्रमित मध्ये २० जना वीरगञ्जकै छन्।

वीरगञ्जको वडा नं ९, ५, ४, ११ श्रीपुर, आदर्शनगर, बेल्वा, भिश्वा, सिर्सियाका मानिसमा संक्रमण देखिएको हो। नेपाली सेनाका १ जना, ३ जना प्रहरी, ६ जना कैदीबन्दी, २ जना कारागारका कर्मचारी, १ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको हो।

दुई दिन अघि वीरगञ्ज कारागारमा २२ जनाको स्वाब नमुना संकलन गरिएको थियो। कारागार भित्र रहेका दिर्घ रोगी, जेष्ठ कैदी १२ जना, अग्रपंक्तिमा रही काम गर्ने ड्राइभर, कर्मचारी, सुरक्षाकर्मी समेत २२ जनाको स्वाब नमुना संकलन गरिएको थियो।

कैदी बन्दीमा संक्रमण देखिएपछि उनीहरुलाई कसरी राख्ने भन्ने समस्या भएको उपाध्यायको भनाइ छ। ५० बेड क्षमताको अस्थायी कोरोना विशेष अस्पताल गण्डकमा ६२ जना कोरोना संक्रमितलाई राखिएको छ। जसमध्ये ५ जना आइसीयुमा रहेको उपाध्यायको भनाइ छ।